जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका सेवा प्रवाह, कोभिड १९ मा कार्यालयले प्रदान गर्दै आएको सेवा र कोभिड र आयुर्वेदिक औषधि र टिप्स सहितको जानकारीका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख आयुर्वेदिक चिकित्सक ललिता पाण्डेसँग यस अनलाईनका सम्पादक बिमला पाण्डेले गर्नु भएको कुराकानी ।
– जिल्ला आयुर्वेदिक सेवा केन्द्रको सेवा प्रवाहबारे जानकारी दिनुस न ?
हामीले दैनिक रुपमा यहाँबाट ओपिडि सेवा दिईरहेका छौं । ओपिडि सेवा निशुल्क नै हुन्छ । निशुल्क विरामी जाँच हुन्छ । यहाँ सबै खालको रोगको उपचार आयुर्वेदिक चिकित्सा पद्दतिबाट नै हुन्छ । निशुल्क औषधि वितरण गरिरहेका छौं । हामीले पञ्चकर्म सेवा अन्तर्गत पूर्व कर्म सेवा यहाँबाट दिईरहेका छौं । पञ्चकर्म भन्नाले आयुर्वेदको एक चिकित्सा पद्दति हो । जसबाट हाम्रो शरीरको शोधन गरिन्छ । तर हाल कोभिडको कारणले यो सेवा केहि समयका लागि बन्द गरिएको छ । यस्तै यहि आर्थिक वर्षदेखि हामीले ल्याव सेवा सञ्चालनमा ल्याउँदै छौं । जसका लागि सामानहरु खरिद गर्ने प्रक्रियामा छ । अर्को सेवा भनेको जेष्ठ नागरिक सेवा हो । हामीले जेष्ठ नागरिकहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने र कमजोरी हटाउने आयुर्वेदिक औषधिहरु निशुल्क दिने गरेका छौं । यस्तै अर्को स्तनपाई कार्यक्रम छ । जो ६ महिनासम्मको सुत्केरी महिलाहरुलाई सेवा दिन्छौं । बालमृत्युदर र मातृ मृत्युदर घटाउन र कुपोषण हुनबाट बचाउन स्तनपान गराईरहेका आमाहरुका लागि स्तनन्यवर्दक औषधिहरु निशुल्क उपलब्ध गराउँछौं । यति नै सेवा हामीले यहाँबाट प्रदान गरिएको छ ।
– सेवाग्राहीहरुमा आयुर्वेदिक उपचार पद्दतिमा कत्तिको रुचि रहेको छ ?
आयुर्वेदिक उपचारमा पहिलेको तुलनामा अहिले रुचि बढेको देखिन्छ । कोभिड १९ को जोखिम बढीरहदा यसको झनै माग र रुचि बढेको देखिएको छ । प्रचारप्रसार कम भएका कारणले पनि उपचारमा आउनेको संख्या कमी भएको हुन सक्छ । तर कोभिडका कारणले यसको प्रचार प्रसार हुन थालेको छ । कोभिडको उपचार त छैन आयुर्वेदमा तर रोकथाम चाहिं गर्न सकिने हुनाले अलि बढी चासो दिईएको जस्तो लाग्छ । पहिलेको तुलनामा ओपिडीमा पनि विरामी संख्या बढ्न थालेको छ ।
– ओपीडिमा सेवाग्राहि बढे भन्नु भयो ? कति अनुपातमा विरामी बढेका छन त ?
पहिले पहिले १५, २० जना आउनेमा अहिले ३० देखि ४० जना आउने गरेका छन । लगभग दोब्वर सेवाग्राहि बढेको पाईएको छ । आयुर्वेदका अन्य शाखाहरु राख्न सकियो भने विरामीको चाप बढ्न सक्ने देखिन्छ ।
– आयुर्वेदिक चिकित्सा प्रणाली र एलोपेथिक उपचारमा के फरक छ ?
हरेक चिकित्सा प्रणाली आफ्नो आफ्नो सिदान्तमा आधारित हुन्छन । फरक फरक तरिकाबाट उपचार हुन्छ । आयुर्वेद मात्र चाहिन्छ एलोपेथ चाहिदैन भन्ने हुदै हुदैन तर आयुर्वेद चाहिन्छ । यी दुई उपचार प्रणालीलाई सँगसँगै लानुपर्छ जस्तो मलाई लाग्छ । कुनै रोग आयुर्वेदबाट सम्भव नहुने खालका हुन्छन । जस्तो आपतकालिन दुर्घटना वा अन्य रोगका लागि छिटो उपचार गर्न एलोपेथ नै ठिक हुन्छ । अप्रेशन गर्ने खालका रोगहरु आयुर्वेदमै सफल हुन्छ भनेर भन्न सक्दैनौं । नहुन पनि सक्छ । क्रोनिक डिजिजहरु जस्तो वाथ रोगहरु हुन्छ, पायल्सका रोगहरु हुनसक्छ त्यस्ता रोग चाहिँ एलोपेथिकका तुलनामा आयुर्वेदमा राम्रो उपचार भएका रिसर्चहरु पनि छन । त्यसैले दुईवटै उपचार पद्दतिलाई आवश्यकता र अवस्था अनुसार लिएर जानुपर्छ जस्तो लाग्छ ।
– कोरोना महामारीमा कुन खालका औषधिहरु सिफारिस गरिराछौं र त्यसका फाईदाहरु के के छन ?
कोरोना महामारीमा जनमानस दुई थरिका छन । कुनैले आयुर्वेदिक औषधि खानै हुदैन । यसले लिभर, किड्नी ड्यामेज गर्छ भन्ने छ । अर्को थरी आयुर्वेदिक औषधि खानुपर्छ भनेर धेरै खाने । उहाँहरुलाई आयुर्वेदमा कोरोना भन्ने कहाँ छ ? कोरोनाको औषधि छैन, भ्याक्सिन छैन भन्ने हुन्छ । कोरोना नाम नदिए पनि कोरोना जस्ता रोगहरु आयुर्वेदको जनपदध्वसमा उल्लेख गरेको छ । त्यसैलाई आधार मानेर रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिहरु दिने गरेको हो । हामीले घर आँगन, भान्सामै खाने खालका मसलाहरु मरिच, बेसार, अदुवा, लसुन दैनिक रुपमा उचित मात्रामा प्रयोग गरेमा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छन र कोरोना लाग्न नदिन मद्दत गर्छन । यदि कोरोना लागि सक्यो भने पनि यी मसलाहरुले विरामीलाई गम्भिर अवस्थामा लान दिदैंन । यहाँबाट हामीले दिने भनेको चाहिँ परामर्श पनि दिन्छौं । हामीले चार भागमा बाँडेर औषधि दिने गरेका छौं । कोभिड भईसकेका र लक्षण देखिएका विरामीको लागि ज्वरो आएकालाई ज्वरो नासक औषधि मिसाएर दिन्छौं, कसैलाई खोकी लागेको छ भने सोहि अनुसार औषधि दिन्छौं । लक्षण नभएकालाई छुट्टै खालको औषधि दिन्छौं । यस्तै पोष्ट कोभिडका विरामीलाई पनि हामीले औषधिहरु दिने गरेका छौं । रिपोर्ट नेगेटिभ आउने तर कमजोरी हुने, खोकी लाग्ने, डिप्रेसन हुने, ग्याष्ट्रिक बढ्ने समस्या भएका विरामीलाई सोहि अनुसारको औषधि दिने गरेका छौं । उनीहरुलाई पनि एक महिनासम्मका लागि फोकस गरेर औषधिहरु दिने गरिएको छ । अर्को चाहि हामीले प्रिभेन्सनको लागि । जो फ्रन्टलाईनमा काम गर्नेहरुलाई पनि पूर्व सतर्कताका लागि आवश्यकता अनुसार औषधिहरु दिने गरेका छौं । आयुर्वेदिक औषधिले कोरोना नै निको हुन भन्दा पनि लाग्न नदिने र लागि सकेपछि पनि गम्भिर अवस्थामा विरामी नजाओस भनेर दिईएको हो ।
– कोरोना र महामारीलाई कसरी जोड्दा उपयुक्त हुन्छ ?
जनपदध्वंस भनेर उल्लेख गरेको छ आयुर्वेदको शास्त्रमा । भिन्न भिन्न प्रकृति, उमेर समूह वा भिन्न आहार सेवन गर्ने मान्छेलाई वायु जल भूमि विकृत भएर एउटै खालको रोग लाग्छ भने त्यसलाई जनपदध्वंस भनिन्छ । त्यो अहिलेको कोरोना महामारीसँग मिल्यो नि त । त्यसैलाई आधार मानेर त्यसैमा उल्लेख गरिएका एक मानिसबाट अर्को मानिसले दुरी कायम गर्ने, बाहिरबाट घरमा आएर नुहाउने जस्ता विधिहरु उल्लेख गरेको छ । जुन अहिले आएर हामीले पालना गरिरहेका छौं । अहिले हामी बाहिरबाट आएर हात धुने, नुहाउने, लुगा खोल्ने गर्छौं नि । महामारी भनेर उल्लेख गरेको भए पनि कोभिड भनेर उल्लेख भने गरिएको छैन ।
– जिल्लामा कोभिडसँग सम्बन्धित कुन कुन कार्यक्रम गरेका छौं ?
हामीले कोभिडका समयमा जिल्लाबाट पहिलो चरणको कोभिडमा आइसोलेसन सेन्टरहरु, क्वारेन्टाईनहरुमा गयौं । मनोपरामर्श, रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि दिने र योग सिकायौं । दोस्रो लहरको कोरोना संक्रमणको बेला हामी आइसोलेसन सेन्टरमा त्यहि गएनौं । कमलामाईमा रहेको कोभिड अस्पतालमा एक पटक पुग्यौं । अहिले त्यहाँ आउने विरामी अन्तिम अवस्थाका धेरै अक्सिजन चाहिने विरामी मात्र भर्ना हुनुहुन्छ । त्यसपछि हामीले होम आइसोलेसनमा बसेका विरामीका लागि औषधि तथा परामर्श दिन गईरहेका छौं । अर्को हामीले रेडियोहरुमा जिंगल पनि बजाएका छौं । परामर्शका लागि सम्पर्क नम्बर पनि दिएका छौं । उहाँहरुले भिडियो कल मार्फत पनि सेवा लिन सक्नुहुन्छ । यसरी परामर्श पनि लिइरहनु भएको छ । कोभिड लागेका विरामीका आफन्तहरुले पनि कार्यालयमै आएर औषधिहरु लिईरहनु भएको छ ।
– आयुर्वेद सेवालाई व्यापक बनाउनका लागि भएका समस्या के छ ?
कोभिडको समयमा आयुर्वेद सेवालाई व्यापक बनाउन पहिलो त हामीलाई सुरक्षित हुने खालका सामग्री चाहियो । पिपिई, मास्क लगाएतका सामग्री पाएका छौं । खासै त्यस्तो समस्या छैन । हामी घर घरमै गएर सेवा दिएका छौं ।
– आयुर्वेद स्वास्थ्य विकास हुन नसक्नुका कारण के छन ?
आयुर्वेद स्वास्थ्य ओझेलमा परेको छ । बजेट विनियोजन गर्दा पनि एकदमै थोरै बजेट दिने, जनशक्ति कम हुने लगाएतका कारणले आयुर्वेद स्वास्थ्य सेवा ओझेलमा छ भने प्रचार प्रसारको कमी पनि छ । जिल्ला व्यापी कार्यक्रम गर्न सक्यो भने यसको प्रभाव व्यापक हुन सक्थ्यो । त्यस्तो गर्न सकिएको छैन ।
– आयुर्वेद स्वास्थ्यको विकासका लागि कसले के गर्नुपर्छ ?
माथिल्लो निकाय अर्थात जसले नीति नियम बनाउनुहुन्छ उहाँहरुले आयुर्वेदलाई प्राथमिकतामा राख्नुपर्छ । हाम्रो स्वास्थ्य नीतिमा आयुर्वेदलाई माथि लानुपर्छ भन्ने थियो नि त्यो लागु भएन । यसपालीको बजेटमा पनि प्रत्येक प्रदेशमा प्रादेशिक आयुर्वेद अस्पताल निर्माण गर्ने लेखिएको छ तर त्यो लागु हुदैन । नीति नियम जसरी बनाइन्छ त्यसलाई लागु पनि गर्नुप¥यो । अस्पतालका रुपमा आयुर्वेदलाई विकास गर्न आवश्यक छ । कोभिडका महामारीमा केहि जिल्लाहरुमा आइसोलेसन सेन्टरहरु पनि स्थापना भएका छन । जिल्लामा त्यो सम्भव भएन ।
– आयुर्वेदमा सेवाग्राहिको पहुँच पु¥याउन के गर्न सकिन्छ ?
प्रचार प्रसार नै हो यसको लागि त । हामीले घर घरमै गएर हुन्छ की सञ्चारमाध्यमबाट हुन्छ की प्रचार गर्ने नै हो । कतिलाई आफ्नै घरमा भएका जडिबुटीबारे नै जानकारी हुदैन । त्यसका बारेमा जानकारी दिएर प्रयोग गर्न सिकाउनु आवश्यक छ ।
– कोरोनामा कति जनाले सेवा लिनु भएको छ ?
कोभिडको दोस्रो लहरबाट प्रभावितहरुले यो कार्यालयबाट २ सय २३ जनाले सेवा लिनु भएको छ । हामीले कमलामाई नगरपालिकाको वडा नं. ७, ६ हुदै घर दैलो सेवा प्रवाह सुरु गरेका छौं । सकेसम्म धेरै संक्रमितको घरमा पुग्न थालेका छौं । उहाँहरुलाई मनोसामाजिक परामर्श सहित औषधिहरु दिएका छौं । औषधिले कति भ्याउँछ त्यति सम्म घरदैलो गर्छौं । ओपिडिमा पनि औषधि चाहिन्छ ।
– स्थानीय तहको कत्तिको सहयोग रहेको छ ?
अहिले हामीलाई स्थानीय तहले कुनै सहयोग गरेको छैन । हामीले आफ्नै श्रोत र जनशक्तिबाट काम गरेका छौं । स्थानीय तहले बजेट विनियोजन गरेर पालिका पालिकामा सेवा केन्द्रहरु राख्यो भने त धेरै राम्रो हुने थियो । हामी सहयोग गर्न तयार छौं ।
– अन्तमा भन्नुपर्ने केहि छ ?
अन्तमा म आयुर्वेदका केहि टिप्सहरु भन्न चाहन्छु । आयुर्वेद औषधि भन्दा वित्तिकै प्रचारको भरमा आफुखुशी आयुर्वेद स्वास्थ्यकर्मीको सल्लाह विना औषधि नखाईदिनु हुन अनुरोध गर्दछु । आफ्नै घर आँगनमा भएको जस्तै गुर्जो प्रयोग गर्दा फ्रेस गुर्जो छ भने बुढी औंला जति लम्बाई र मोटाई भएको गुर्जो लिने र थिचेर आधा लिटर पानीमा पकाएर खाने । अर्को असुँरो पनि पाउँछ । यसले स्वासप्रश्सासमा एकदम राम्रो गर्छ । असँुरोको २ वटा पातलाई दुई गिलास पानीमा पकाएर एक गिलास बाँकी रहेपछि खाने गर्दा यसले राम्रो गर्छ । तेजपात, दालचिनी, सुठो, मरिच, पिप्लालाई एकै पटक पकाएर थर्मसमा राखेर दिनभरी त्यसैको पानी लिने, अलि झोलिलो कुराहरु खाने, नडराउने, योग प्रणायमहरु गर्ने जस्ता काम गर्ने गर्दा राम्रो हुन्छ । योग प्रणायमहरुले फोक्सोको क्षमतालाई बढाउने काम गर्छ । कोभिड संक्रमित व्यक्तिले २÷२ घण्टाको फरकमा १५÷१५ मिनेट गर्दा राम्रो हुन्छ । प्रणायमहरु टिभि, युटुबहरुमा पाइन्छन । त्यो हेरेर गर्दा पनि हुन्छ । लामो गरि स्वास फेर्ने, केहि समय रोक्ने र छोड्ने खालको प्रणायम आवश्यक हुन्छ । कोभिड संक्रमितले धेरै लामो समय गर्न सक्नुहुन्न । स्वस्थ व्यक्तिले विहान बेलुका १, १ घण्टा प्रणायम गर्दा एकदमै राम्रो हुन्छ । डरलाग्दा समाचारहरु नहेर्नु । आधिकारीक समाचारहरु मात्र हेर्नु होला ।