सिन्धुली । सिन्धुली अस्पतालमा ¥यापिड डाइग्लोष्टिक किट्स (आरडिटी) विधि मार्फत गरिएको एण्टीवडि परिक्षणमा २० जनाको नतिजा पोजेटिभ आएको छ । ति मध्ये १२ जना स्वास्थ्यकर्मीमा आरडिटी परिक्षणमा एण्टीवडि पोजेटिभ देखिएको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्न राजभण्डारीले बताए ।
सोमबारदेखि जिल्लामा सुरक्षा अधिकारीहरु, जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुको ¥यापिड डाइग्लोष्टिक किट्स (आरडिटी) विधि मार्फत एण्टीवडि परिक्षण थालिएको हो । सिन्धुली अस्पतालका स्वास्थ्यकर्मी सहित जिल्लाका फ्रन्टलाईनमा रहेर काम गर्नेहरुको आरडिटी परिक्षण थालिएको हो ।

आरडिटी परिक्षणमा एण्टीबडी नतिजा पोजेटिभ आएकाको मंगलबार थ्रोट स्वाव संकलन गरि प्रादेशिक अस्पताल हेटौडामा आरटिपिसिआर विधिबाट कोरोना परिक्षणका लागि पठाउने तयारी भईरहेको सिन्धुली अस्पतालका डा. राजभण्डारीले जानकारी दिएका छन । पिसिआर रिपोर्ट आएपछि मात्र कोरोना भए नभएको पुष्टि हुने उनले बताए ।
आरडिटी परिक्षणमा नतिजा सार्वजनिक भएसँगै जिल्लाबासीहरुमा त्रास फैलिएको छ । तथापी स्वास्थ्यकर्मीहरु लगाएत सामाजिक अभियन्ताहरुले पिसिआर परिक्षणको नतिजा आउन दिन र नआत्तिई सुरक्षित रहन अनुरोध गरिरहेका छन ।
स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहका अनुसार आरडिटी परिक्षणमा नतिजा पोजेटिभ आए पनि सबैमा कोरोना हुन नसक्ने हुदा जिल्लाबासीलाई नआत्तिन र पिसिआर रिपोर्ट आउन दिन आग्रह गरेका छन ।




















