सिन्धुली । लकडाउनका कारण खाद्य संकटमा परेका मजदुर तथा विपन्न वर्गलाई कमलामाई नगरपालिकाले राहत वितरण गरेको छ । नगरप्रमुख राहत कार्यक्रम अन्तर्गत आइतबार कमलामाई नगरपालिकाले ४ वटा वडामा रहेका मजदुर तथा गरिब असाहायलाई खाद्यान्न राहत वितरण गरेको हो ।
कमलामाई नगरपालिकाका वडा नं. १, २, ८ र ९ का अतिविपन्न र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने नागरिकलाई राहत वितरण गरिएको कमलामाई नगरपालिका सिन्धुलीले जनाएको छ ।
वडा अध्यक्ष तथा वडा कार्यालयहरुको समन्वयमा उक्त राहत वितरण गरिएको हो । नगरपालिकाको वडा नं. ८ मा ६३ जना, वडा नं. ९ मा ८९ जना, वडा नं. १ मा ४९ जना र वडा नं. २ मा ८७ जनालाई राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
कमलामाई नगरपालिकाको वडा नं. १ मा वडा अध्यक्ष महेशराज खतिवडा, वडा नं. २ मा वडा अध्यक्ष नवराज थिङ, वडा नं. ८ मा वडा अध्यक्ष टिका बहादुर मोक्तान र वडा नं. ९ मा वडा अध्यक्ष देवराज पौडेलले राहत वितरणको संयोजन गरेका थिए ।
राहत वितरणमा वडाका वडा सदस्यहरु, वडाका कर्मचारीहरुलाई परिचालन गरिएको थियो । यस अघि नगरपालिकाले ७५ जना मजदुरलाई राहत वितरण गरेको थियो ।




















