सिन्धुली । कमलामाई नगरपालिकाले कृषि उत्पादनलाई प्रवद्र्धन गरि उत्पादनको व्यवसायीकरणमा जोड दिदैं ‘एक बडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकालाई तरकारी र फलफुलमा आत्मनिर्भर बनाउनका लागि यो कार्यक्रम गर्न थालिएको कृषि शाखाका प्रमुख देवी प्रसाद सापकोटाले बताए ।
नगरपालिकाले अन्य उत्पादनलाई बढाउनुका साथै ‘एक वडा एक उत्पादन’ लाई मुख्य प्राथमिकतामा राख्ने सापकोटाले बताए । उक्त कार्यक्रम सन्चालनको लागि कमलामाई नगरपालिकाले नगरपालिकाको १४ वटै बडाको लागि १० लाख बजेट छुट्याइएको छ । त्यस्तै सिंचाईको बजेट १४ लाख रहेको र सो रकम पनि कृषिमा आधारित सिंचाईमा लगाईने कमलामाई नगरपालिकाले जनाएको छ ।
नगर स्तरीय कृषि समितिले उत्पादनको हिसावमा कमलामाई नगरपालिकाको वडा नं १ मा भुइकटहर र आलु, २ मा अदुवा र तरकारी, ३ मा जुनार, च्याउ र तरकारी , ४ मा तरकारी , ५ मा बेसार र तरकारी, ७ मा तरकारी, ८ मा भुइकटहर र तरकारी, ९ मा धानको विउ र लिचि सम्भावना छ । यस्तै १० मा मुसुरो र मौरीपालन, ११ र १२ मा कागति र तरकारी, १३ र १४ मा पनि चैते धान उत्पादन हुने सम्भावना रहेको भनि पहिचा गरेको छ । सोहि विषयमा वडाध्यक्ष, वडाका प्राविधिकसँग छलफल गरि कार्यक्रम सुरु गरिने सापकोटाले बताए । असोजसम्म उत्पादनको पहिचान गरेर नमुनाका रुपमा काम अगाडि बढाईने र कार्यक्रम सफल भएमा थप बजेटको व्यवस्था गरिने उनले बताए । उनका अनुसार वडा नं. ६ मा भने बढ्दो शहरीकरणका कारण कुनै पनि उत्पादनमा जोड दिईएको छैन ।
१४ वटै वडामा माटो परिक्षण
कमलामाई नगरपालिकाको १४ वटै वडाको माटो परिाक्षण गरिएको छ । कमलामाई नगरपालिकाको कृषि प्राबिधिकहरुको सहयोगमा असारको २० गते देखि २५ गते सम्ममा नगरपालिकाको १४ वटै वडाको माटो परिक्षण गरिएको सापकोटा बताए ।
कमलामामाई नगरपालिकाको १४ वडाको ३ सय वटा स्याम्पल परिक्षण गरिएकोमा सबै वडाको माटो अम्लिय रहेको पाइएको छ । माटोमा नाइट्रोजन, पोटास र फसफोरसको कमि रहेको पाइएको पनि उनले बताए । माटो परिक्षणबाट सबै बडामा सामान्यतया धान र मकैको उत्पादन हुने देखिएको पनि उनले जनाए । उनका अनुसार माटोको उपचार गरेर मात्र उत्पादनमा जोड दिनुपर्ने देखिएको छ ।





















