सिन्धुली । कमलामाई नगरपालिकाले नगरक्षेत्रका फुटपाथमा खुला व्यापार गर्ने व्यवसायीलाई करदर्ता अनिवार्य गर्न थालेको छ । अव नगरपालिकाका बजार क्षेत्रमा खुल्ला व्यापार गर्नेहरु पनि करमा दर्ता भएको हुनपर्ने व्यवस्था लागु गर्न सुरु गरेको छ । नगरपालिकाले प्यान वा भ्याटमा दर्ता नभएका व्यवसायीलाई फुटपाथमा व्यवसाय गर्न नदिने भएको हो । सदरमुकाम समेत रहेको यो नगरपालिकामा राज्यलाई कर नतिरी व्यसाय सञ्चालन गर्नेको संख्या बढ्दै गएको भन्दै नगरपालिकाले बाध्यकारी नीति ल्याएको कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले बताए ।

नगर क्षेत्रभित्र लाग्ने विभिन्न हाट बजार तथा फुटपाथमा बसि व्यापार व्यवसाय गर्नेहरुले राज्यलाई कर नतिर्दा राज्यको आम्दानी घट्नुका साथै कर तिरेर व्यवसाय गर्नेलाई समेत मर्का परेको हुदा सबैलाई करको दायरामा ल्याउन थालिएको खत्रीले बताए ।
राज्यको करको दायरमा नरहेका व्यापारीहरु राज्य र नागरिकप्रति उत्तरदायी पनि नहुने भएकाले यस्तो कदम चालिएको उनले बताए । बजारमा गुणस्तरहिन, म्याद सकिएका सामानको विक्री बढ्नु र मुल्यमा समेत एकरुपता आउन नसक्दा समस्या भएकाले नगरपालिकाले सबै फुटपाथ व्यापारीलाई करको दायरामा ल्याउन लागेको हो ।
यो नियम लागु गर्न नगरपालिकाले नगर प्रहरी परिचालन गरी सडक पेटी, हाट बजार र सटर भाडामा लिएर व्यापार व्यावसाय गर्नेहरुको तथ्यांक अध्यावधिक गर्ने र प्यान वा भ्याट दर्तामा जान समयसिमा दिने जनाएको छ । दिएको समय भित्र करको दायरामा नआए उनीहरुलाई व्यापार व्यावसाय गर्न रोक लगाउने समेत नगरपालिकाले निर्णय गरेको छ ।
नगरपालिकाका सम्वद्ध कर्मचारीहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सिन्धुली उद्योग बाणिज्य संघ सहितको छलफलले यस्तो निर्णय गरेसँगै सिन्धुलीमाढीमा लाग्ने शनिबारे हाटबजारबाट शनिबारदेखि लगत लिन सुरु गरिएको छ ।
फुटपाथ व्यवस्थित बनाईने
नगरपालिकाले बजार क्षेत्रमा बनाईएका फुटपाथहरु भत्काएर नयाँ बनाउने भएको छ । सडक क्षेत्र भित्र पर्ने गरी बनाईएको सडकपेटीहरु भत्काउने र बजार क्षेत्रलाई व्यवस्थित गर्दै एउटै स्तरका पेटी निर्माण गर्ने गरि पुराना सडकपेटी भत्काउन लागिएको नगरपालिकाले जनाएको छ ।
बजार क्षेत्रका सडकलाई फराकिलो बनाई आवतजावतलाई सहज बनाउन र पार्किङलाई व्यवस्थित गर्नका लागी यस्तो नीति ल्याइएको नगर प्रमुख खत्रीले बताएका छन ।
सडक पेटीमा एकरुपता ल्याउनका लागी सिन्धुलीमाढी बजारको अन्र्तगत दुई नम्वर बजारबाट केहि दिनमै काम सुरु हुने उनले बताए । केही दिन भित्रमै यसको काम सूरु हुने पनि उनले बताए । दुई नम्वर बजारबाट सर्वसम्वत रुपमा यसका लागी लिखित निर्णय नै आईसकेकाले यस क्षेत्रमा चाँडै काम सुरु हुने उनले बताए ।




















