सिन्धुली/सिन्धुलीको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बालमैत्री बनाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले स्तनपान कक्षको स्थापनासँगै उनीहरुको सिकाईमा समेत विकास गर्नका लागि बालमैत्री खेल तथा अध्ययन सामग्रीको समेत व्यवस्था गरेको छ । प्रशासन कार्यालयले जिल्लामा पहिलो पटक बालमैत्री सरकारी कार्यालय र स्तनपान कक्षको निर्माण गरेको हो ।
सेवाग्राही महिला र बालबालिकाको सुविधाका साथै उनीहरुलाई सिकाईमा प्राथमिकता दिन स्तनपान कक्षको स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । उक्त स्तनपान कक्षमा बालबालिका लागि खेल्न सुत्न र बस्नका लागि चाहिने सबै सामानको व्यवस्था गरिएको छ ।
नागरिकता, पासवर्ड लगाएतका सेवा लिन आउँदा बालबालिका लिएर आउने महिलालाई दुध खुवाउन सहज बातावरण सृजना गर्न, बालबालिका खेलाउन र सुताउन असुविधा हुदै आएपछि स्तनपान कक्ष स्थापना गरिएको उनले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंका अनुसार जेठबाट सुरु भएको उक्त स्तनपान कक्षमा सरदर दैनिक ७, ८ जना आमा तथा बच्चाहरुले सुविधा लिईरहेका छन ।
स्तनपान कक्षसँगै जिल्ला प्रहरी कार्यालय सिन्धुलीको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई पनि बालमैत्री बनाईएको छ । सेवा लिन आउने तथा थुनुवाका रुपमा आउने महिलासँगै रहने बालबालिकालाई लक्षित स्तनपान तथा बाल मनोरञ्जन कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्र बहादुर सिंहले बताए । उक्त कक्षलाई पनि प्लान नेपालको सहयोगमा ह्ण्याड्स नेपाल सिन्धुलीले बालबालिकाका लागि सिकाई र खेल सामग्री हस्तान्तरण गरेको छ ।
दुवै कार्यालयका स्तनपान कक्षमा प्लान नेपालको साझेदारीमा मानव तथा राष्ट्रिय विकास समाज ह्याण्ड्स नेपाल सिन्धुलीले प्रति कार्यालय ९० हजार ५ सय बराबरका १६÷१६ थरिका खेल्ने, सुत्ने र सिकाईका सामानहरु सहयोग गरेको छ ।
जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा बालबालिका र महिलाको बढी सम्पर्क हुने भएकाले बालमैत्री अवधारणा अनुरुप बाल विकासका सामग्री हस्तान्तरण गरिएको ह्याण्ड्स नेपाल सिन्धुलीका अध्यक्ष बासुदेव अधिकारीले बताए ।
सबै स्थानीय तहमा स्तनपान कक्ष बनाईने
जनसम्पर्क बढी हुने स्थानीय तहहरुमा महिला र बालबालिकालाई लक्षित गरि स्तनपान कक्षको स्थापनाका लागि प्लान नेपालले सहयोग गर्ने भएको छ । प्लान नेपाल सिन्धुलीका प्रमुख रामबहादुर श्रेष्ठले सबै स्थानीय तहमा यस्तो कक्षको आवश्यकता रहेको बताउँदै स्थानीय तहकै समन्वयमा बाल सिकाई कक्ष तथा स्तनपान कक्ष स्थापनाका लागि पहल गरिने बताए । सरकारी निकायलाई बालमैत्री बनाउनका लागि सहयोग गर्न सुरु गरिएको पनि जनाए । प्लानले साझेदारी संस्था मार्फत बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।






















