सिन्धुलीमाढी । नेपाल सरकारले दिने गायन तर्फको प्रादेशिक प्रतिभा पुरस्कार सिन्धुलीकी गायिका लक्ष्मी गुरुङ (डम्बरकुमारी गुरुङ) लाई प्रदान गर्ने भएको छ । प्रादेशिक प्रतिभा पुरस्कारका लागि प्रदेश ३ बाट गायिका गुरुङ छनौट भएकी हुन ।
सरकारले संस्कृति, संगीत तथा नाट्य, ललितकला र भाषा तथा साहित्य विधामा राष्ट्रिय प्रतिभा पुरस्कार र सातै प्रदेशबाट विभिन्न चार विधामा प्रादेशिक प्रतिभा पुरस्कार दिदै आएको छ ।

गायिका गुरुङले संगीत तथा नाट्य विधातर्फको प्रादेशिक प्रतिभा पुरस्कार प्राप्त गरेकी हुन । उक्त पुरस्कारको राशि ५० हजार रुपियाँ छ । गायिका गुरुङसहित सात प्रदेशबाट विभिन्न चार विधामा २८ जनाले पुरस्कार पाउने भएका छन । असार १२ गते को प्रधानमन्त्री स्तरीय निर्णय अनुसार सो पुरस्कार घोषणा गरिएको हो ।
सिन्धुलीको रतनचुराकी गायिका गुरुङ २०५६ सालमा जनयुद्धमा मारिएका खम्बसिंह गुरुङकी छोरी हुन । बुवाको हत्यापछि उनी पनि जनयुद्धमा लागेकी थिईन भने २०५८ देखि माओवादीको सांगितिक फाँटबाट गायन क्षेत्रमा प्रवेश गरेकी थिइन । त्यसपछि नेपाली साहित्य, गीत, संगीतमा सक्रिय गुरुङले एक दर्जनभन्दा बढी गीत रेकर्ड गरिसकेकी छिन । पछिल्लो समय गुरुङ गायन तथा लेखनमा सक्रिय छिन ।





















