सिन्धुली । माध्यमिक शिक्षा परीक्षामा भगवति आवासिय अंग्रेजी मावि सिन्धुलीका २ छात्राले ४ जिपिए अंक ल्याएका छन । २०७५ सालको एसईई रिजल्टमा जिल्लामा हालसम्म प्राप्त विवरण अनुसार उनीहरुले आउट अफ रिजल्ट ल्याएका हुन । भगवति आवासिय माविका प्रिन्सिपल कृष्ण उपे्रतीका अनुसार भगवतिमा अध्ययनरत रोशनी सुवेदी र प्रशंसा राईले ४ जिपीए ल्याएका हुन । यस्तै सोहि स्कुलबाट ३.९५ जिपिए ३ जनाले ल्याएका छन । जसमा अनिस शाह, सुसान बराल र आस्मा थापा रहेको उप्रेतिले जानकारी दिए ।
भगवति आवासिय माविका ६८ जना विद्यार्थीले एईई दिएकामा ३० जनाले ए प्लस, ३४ जनाले ए र ४ जनाले वि प्लस ग्रेड ल्याएको उपे्रतीले बताए । जिल्लाकै एसईई र एसएलसी रिजल्टमा आउट अफ ल्याउने २ छात्रा रहेको उप्रेतीले दावी गरे । उनका अनुसार यसपटकको रिजल्टमा भगवतिले जिल्लाकै शैक्षिक इतिहासलाई बे्रक गरेको छ । २०७४ को एसईईमा पनि भगवति आवासिय माविका २ छात्र विकास अधिकारी र विकास कुमार अधिकारीले ३.९५ जिपिए ल्याएर उत्कृष्ट भएका थिए ।
यस्तै कमलामा इंलिस वोर्डिङ स्कुल दुधौलीका इश्वर न्यौपाने ३.९५ जिपीए ल्याएका छन । त्यस्तै सिद्धस्थली आवासिय माविमा अध्ययनरत सुरक्षा राना, सूर्योदय वोर्डिङ स्कुल सिन्धुलीका चाँदनी सुनुवार र रितिका भण्डारीले ३.९५ जिपिए ल्याएका छन । कमलामा इंलिस बोर्डिङ स्कुलका २४ जना विद्यार्थीमा ७ जनाले ए प्लस, १४ जनाले ए, ३ जनाले वि प्लस र १ जनाले वि गे्रड ल्याएका छन ।
सिद्धस्थली आवासिय माविबाट ७१ जना विद्यार्थीले एसईई दिएकोमा २१ जनाले ए प्लस, ४६ जनाले ए र ४ जनाले वि प्लस ल्याएको विद्यालयका प्रिन्सिपल ओम प्रधानले बताए । यसैगरि सूर्योदय वोर्डिङ स्कुलबाट ४९ जनाले एसईई दिएकोमा २८ जनाले ए प्लस र २१ जनाले ए ग्रेड ल्याएको प्रिन्सिपल सोनी पाण्डेले बताए ।
यस वर्ष सिन्धुलीका २६ परीक्षा केन्द्रबाट १ सय ३४ विद्यालयका नियमित, ग्रेडबृद्धि तथा प्राविधिक धारका गरि ५ हजार ६ सय २० जना विद्यार्थीले परीक्षा दिएका थिए । जिल्लाको पूरै नतिजाबारे जानकारी पाउन सकिएको छैन ।
यस्तो छ देशभरको नतिजा
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । २०७५ चैतमा भएको परीक्षाको नजिता बिहीबार सार्वजनिक भएको हो । बोर्डले एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको छ ।
मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी रहेकामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन् । नतिजा अनुसार ए प्लस ल्याउनेमा ९ हजार ५९६ छात्र र ७ हजार २८६ छात्रा छन् ।
यस्तै, ४८ हजार ९६० ले ए जीपीए ल्याएका छन् । जसमा २७ हजार २७९ छात्र र २१ हजार ६८१ छात्रा रहेको छन । ७४ हजार ११० ले बी जीपीए ल्याए । जसमा ३९ हजार ९५ छात्र र ३५ हजार ५० छात्रा छन् । यसैगरी ६० हजार ७०६ जनाले बी प्लस जीपीए ल्याएका छन् जसमा ३४ हजार १६६ छात्र र २६ हजार ५४० छात्रा हुन् । ९७ हजार २९९ ले सी प्लस ल्याएका छने जसमा ४५ हजार ७८९ छात्र र ५१ हजार ५१० रहेका छन् । सी जीपीए ल्याउने ९५ हजार २ सय ९ जना रहेका छन् जसमा ४२ हजार ८८३ छात्र र ५३ हजार ३३६ छात्रा हुन् ।
यस्तै परिक्षामा ४३ हजार ८४० जना विद्यार्थीले डी प्लस ल्याएका छन् जसमा छात्रतर्फ १९ हजार १३३ र छात्रातर्फ ३४ हजार ७०७ रहेका छन् । ४ हजार ४२९ जनाले डी जीपीए ल्याए जसमा १८६६ छात्र र २५६३ छात्रा हुन् ।
खस्कियो सामुदायिक विद्यालयको नतिजा
बिहीबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा सामुदायिक विद्यालयको नतिजा खस्किएको देखिएको छ । १७ हजार ५८० विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार उनीहरू मध्ये निजी विद्यालयमा अध्ययन गरेका १४ हजार ७८८ छन् भने सामुदायिकका जम्मा २ हजार ७९२ जना छन् ।
२०७५ सालको एसईई परीक्षामा सामुदायिकबाट ३ लाख २५ हजार ३३० र निजीबाट १ लाख ३३ हजार ९४५ विद्यार्थी सहभागी थिए । सामुदायिक विद्यालयबाट कुल सहभागी मध्ये ०.८६ प्रतिशतले मात्रै एक प्लस ग्रेड ल्याएका छन् । निजी विद्यालयका भने ११.०४ प्रतिशत विद्यार्थीले ‘ए प्लस’ ग्रेड पाएका छन् ।
त्यस्तै ‘ए’ ग्रेड ल्याउने पनि सामुदायिकको तुलनामा निजीको तीन गुणा भन्दा बढी छन् । निजीका ३९ हजार ९१४ र सामुदायिकका जम्ममा ११ हजार २२३ जनाले ‘ए’ ल्याए । अर्थात निजीका २९.८ र सामुदायिकका ३.४५ प्रतिशतले मात्रै ‘ए’ ग्रेड ल्याए ।
गत वर्षको तुलनामा जीपीएको मापदण्ड घटाउँदा पनि सामुदायिकको नतिजामा सुधार आउन नसकेको हो । यसवर्ष ३.६० देखि ४.०० जिपिए ल्याएकालाई ‘ए प्लस’ ग्रेड दिइएको छ । अघिल्लो वर्ष भने ‘ए प्लस’ ल्याउनका लागि न्यूनतम जीपीए ३.६५ तोकिएको थियो । त्यस्तै ‘ए’ देखि ‘डी’ ग्रेड ल्याउन आवश्यक जीपीए गतवर्ष भन्दा ०.५ प्रतिशत घटाइएको छ ।
सामुदायिक विद्यालयको नतिजा निरन्तर ओरालो लाग्दा पनि सुधारको प्रयास नगर्दा यस्तो परिणाम आएको शिक्षाविदहरू बताउँछन् । ७० प्रतिशत विद्यार्थी पढ्ने सामुदायिकको शिक्षामा ३० प्रतिशत मात्रै योगदान देखिएको उनीहरूको भनाइ छ ।
प्रदेश ३ मा ए प्लस ग्रेड ल्याउने धेरै
बिहिबार सार्वजनिक नतिजामा ए प्लस ल्याउने विद्यार्थीमा प्रदेश नम्वर ३ का विद्यार्थी अधिक देखिएका छन् । यस प्रदेशमा १० हजार ६८ जनाले ए प्लस ल्याउँदै अधिक विद्यार्थी ए प्लस ल्याउने प्रदेशमा रहेको छ भने कर्णाली प्रदेशका १४६ विद्यार्थीले मात्र ए प्लस ल्याउन सफल भएका छन् ।
यस्तै प्रदेश नम्वर १ मा १९८४ बिद्यार्थीले ए प्लस ल्याएका छन् भने २ मा ९३१ जनाले , गण्डकी प्रदेशमा १८१८, प्रदेश ५ मा १६८४, कर्णालीमा १४६ , सुदुरपश्चिम प्रदेशमा २५१ जनाले ए प्लस ल्याएका छन् ।






















