सिन्धुली । विपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा सवारी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अरु दुई घाइते भएका छन् । खोटाङ हलेसीबाट काठमाडौँतर्फ जाँदै गरेको बा१३च ३७९३ नं को कार गए राति अनियन्त्रित भई सडकबाट २०० मिटर तल सुनकोशी नदी किनारमा खसेको हो ।
दुर्घटनामा कार चालककी श्रीमती काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वर बस्ने ४५ वर्षीया हेमा लामिछाने र चालकका दाजु ६० वर्षीय अच्चुत लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
यस्तै दुर्घटनामा कार चालक ५८ वर्षीय दीपक लामिछाने र मृतक अच्युतकी छोरी २६ वर्षीया आस्था लामिछाने घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए । घाइतेलाई स्थानीय अस्पतालमा उपचारपछि काठमान्डौ लगिएको छ ।





















