सिन्धुली/दुधौली नगरपालिकाका ३ वटा वडामा पहिलो पटक मासु तथा मासुजन्य पसलहरुको अनुगमन गरिएको छ । विहिबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीको संयोजन, दुधौली नगरपालिका र हुराडेक नेपाल दोलखाको समन्वयमा दुधौली नगरपालिकाका वडा नं. ४ डकाहा बजार, वडा नं. ५ को सिर्थौली बजार र वडा नं. ९ को दुधौली बजारका मासु पसलहरुको अनुगमन गरिएको हो ।
जिल्ला प्रशासन कार्यलय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाईको नेतृत्वमा अनुगमन गरेको टोलीले दुधौलीका ११ वटा मासु पसलमा अनुगमन गरेको छ । अनुगमन टोलीले वडा नं. ४ को डकाहाका ३ वटा मासु पसल अव्यस्थित रहेको भन्दै वडाअध्यक्ष सहितको बैठक बसि व्यवसाय दर्ता नगरेको, आवश्यक व्यवसायीक कागजात नभएको, मासु पसलका साईनबोर्ड नभएको तथा सरसफाई नभएको पाईएको भन्दै सुधारका लागि सुझाव समेत दिएको छ ।
अनुगमनका क्रममा मासु पसलहरु फोहोर र अव्यवस्थित भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले बताईन । उनले दुधौलीमा धेरै जसो विदेशबाट फर्किएर मासु पसल सुरुवात गरेको पाईएको तर उचित सरसफाई र न्युनतम मापदण्डमा नगएकालाई मापदण्डमा लानुपर्ने देखिएको बताईन । उनका अनुसार केहि मासु पसलहरु मापदण्डमा चलेको पाईएका छन ।
दुधौलीमा केहि पसलहरु दर्ता भएको तथा केहि दर्ता प्रक्रियामा रहेको भए पनि धेरै जसो दर्ता नै नगरी मासु पसल सञ्चालन गरेको पाइएको उनले बताईन । यस्तै दुधौली मूल्य सुचि नराखिएको, दर्ता नगरेको सरसफाईमा ध्यान नदिएको, कुखुरा राख्ने र काट्ने स्थान व्यवस्थित नभएको भेटिएको पनि उनले बताईन । नपा भित्रका मासुपसललाई व्यवस्थित गर्न व्यवसायी र स्थानीय सरकारलाई सचेत गराईएको पनि उनले बताइन ।
अनुगमनमा गएकी हुराडेक नेपालका सुस्पा भुजेलले हाटबजारमा रहेको माछा पसल भने खुला र झिंगा लागेको अवस्थामा भेटिएको र सोहि माछाको स्थानीयले प्रयोग गरिरहेको भेटिएको बताईन । अनुगमन टोलीले वडा नं. ४ का ४ वटा, वडा नं. ५ का २ वटा र वडा नंं ९ का ५ वटा मासु पसलको अनुगमन गरिएको थियो ।






















