सिन्धुली/ यहि चैत्र १० गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परिक्षा (एसईई) को तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीले जनाएको छ । इकाईका शाखा अधिकृत नेत्र गजुरेलका अनुसार परीक्षा केन्द्र तोक्ने, केन्द्राध्यक्ष तोक्ने, सबै केन्द्रमा उत्तरपुस्तिका पु¥याउने, सुरक्षा व्यवस्था मिलाउने लगाएतका व्यवस्थापनका काम सकिएको उनले बताए ।
यस वर्ष जिल्लामा २६ परीक्षा केन्द्रबाट १ सय ३४ विद्यालयका नियमित, ग्रेडबृद्धि तथा प्राविधिकधारका गरि ५ हजार ६ सय २० जना विद्यार्थीले परीक्षा दिदैछन । जसमध्ये नियमिततर्फ ५ हजार ४ सय ८४ जना, ग्रेड बृद्धि तर्फ १ सय ३६ जना, प्राविधिक धार अन्तर्गत इन्जिनियरीङतर्फ ६८ जना र कृषि बाली विज्ञानतर्फ १ सय १३ गरी १ सय ८१ परीक्षार्थी परीक्षा दिने गजुरेलले बताए ।
कारागारबाट एकजनाले परीक्षा दिँदै
सिन्धुली कारागारबाट एक जना कैदीले एसईई दिने भएका छन । शाखा अधिकृत गजुरेलका अनुसार कमलामाई नगरपालिका ११ स्थित कुशेश्वर माध्यमिक विद्यालय बेसारेवेशीका विद्यार्थी भरत बहादुर आलेले सिन्धुली कारागार सिन्धुलीबाट परीक्षा दिने भएका हुन । उनलाई कारागारमै परीक्षा दिने व्यवस्था मिलाईको छ ।
आले बलात्कार अभियोगमा कारागारमा जेल जीवन विताईरहेका छन । जिल्ला अदालत सिन्धुलीले बलात्कारको घटनामा दोषी ठहर गरी उनलाई ३ बर्ष सजाय तोकेका कारण उनी कारागारमा छन ।
केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापक केन्द्राध्यक्ष
परीक्षाको तयारी स्वरुप केन्द्राध्यक्ष तोकिसकिएको छ । परीक्षा रहेको विद्यालयका प्रधानाध्यापकलाई नै उक्त केन्द्रको अध्यक्ष तोकिएको शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीले जनाएको छ । छानिएका केन्द्राध्यक्षको अभिमुखीकरण भने चैत ८ गते गरिने भएको छ ।




















