
शनिबारको दिन । विहान प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजना मन्त्रीको कार्यक्रममा पुगेर फर्कदै थिएँ । लामो समयदेखि मैले सिन्धुली आएदेखि रिपोर्टिङ गर्दै आएको बधशालाको अनुगमन गर्ने रहर जागेको थियो । हाटबजार लाग्ने स्थलबाट घर फर्कने क्रममा ती मासु पसलतर्फ मेरा खुट्टा लम्किए । केहि दिन अघि लेखेको समाचारले फेरी त्यतै जान प्रेरित गरिरहेको थियो । सरकारका प्रतिनिधिहरुको अनुगमन प्रतिवेदनबारे लेखेको समाचारको फलो गर्नु थियो । मासु पसलसँग कुनै कुरा गर्ने सुरमा भने थिइनँ ।
मासु पसल अगाडि रगतको आहाल, रौं, मलमुत्र, हिलाम्मे, कुकुर, खसीहरुको भिड, अव्यवस्थित मासु कटाई, खाली भूईंमा राखिएको मासु लगाएत देखेपछि भित्रैदेखि घिन लागिरहेको थियो । हतारमा २, ४ वटा फोटो खिच्दै थिएँ । हातमा प्लाष्टिकमा मासु बोकेका एकजना व्यक्तिले प्याच्च बोली हाले, ‘मान्छे फोटो खिच्न जतिबेला जो पनि आउँछन, भूईंमा मासु नराख भनेको सुनिनस ।’ हेर्दै घिन लाग्ने फोहोरको थुप्रो माथि काटिएको मासु कुकुरले खाउँ खाउँ गरेर छेउँमै बसिरहेको थियो । अगाडि फोहरै फोहर हेर्न र बस्न सक्ने अवस्था थिएन तै पनि गएँ । उनीहरुलाई भने मैले फोटो खिचेकोमा चिन्ता थियो । जवाफमा मैले ‘यसरी फोहोरमा मासु काट्ने बेच्ने गरेपछि त फोटो खिचिहाल्छन नी ?’ भनें ।
ती व्यक्ति मैले देखिरहेकै व्यक्ति हुन तर नाम सोध्न समेत मन लागेन । मलाई त यस्ता पसल सुधार गर्न या त बन्द गर्न नसकेकोमा सरकार प्रति दुःख लाग्यो । कमलामाई नगरपालिका सिन्धुलीले बधशाला निर्माण गरेको हो । बधशालामा हुनुपर्ने कुनै पनि मापदण्ड पुरा गरेको छैन । सामान्य पनि मापदण्ड पुरा नगर्ने यस्ता व्यवसायीलाई स्थानीय सरकारले नै व्यवसाय बन्द गराउन सक्छ । भाडामा दिईएका यस्ता स्थानहरु व्यवस्थित हुन र पटक पटकको अनुरोधलाई नमान्नेलाई कारवाहि स्वरुप हटाउन सक्छ । तर नगरपालिकाले कुनै पनि ध्यान दिन सकेको छैन ।
केहि समय अघि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको नेतृत्वमा भएको अनुगमनको प्रतिवेदनमा जे उल्लेख छ त्यो भन्दा पनि अझ व्यवस्थापनमा कमजोरी रहेको पाएँ मैले । नगरपालिकालाई बुझाएको प्रतिवेदन कहाँ थन्किएको छ के भएको छ ? त्यो खोजीको विषय हो । तर जिल्लामा पशु अस्पताल छ, खाद्य तथा गुण नियन्त्रण डिभजन कार्यालय छ । उनीहरुकै आँखा अगाडि यति धेरै देख्दै अस्वस्थकर मासु अव्यवस्थित पाराले विक्री हुँदा समेत सबै निकाय मौन छन ? कुनै खालको एक्सन छैन । अनुगमनले सुधारका लागि दिएको सात बुँदे सुझाव कागजमै सिमित भएको छ । कार्यान्यनमा गएको जानकारी नै छैन ।
मानव स्वास्थ्य तथा उपभोक्ताको मौलिक अधिकारसंग प्रत्यक्ष सरोकार राख्ने विषय रहेको हुदा कुनै सम्झौता विना नेपाल सरकारको नियम कानुनको परिधिभित्र रहेर व्यवसाय सञ्चालन गर्नुपर्ने देखिन्छ तर त्यस विषयमा कसैको पनि ध्यान गएको पाईदैन । न त यस्ता विषयमा नागरिकलाई सचेत गराईएको छ न त यस्ता सामान विक्री वितरण गर्नेलाई कारवाहि नै गरिएको छ । मेरो प्रश्न किन जिल्लाबासीलाई यसबारे सचेत गराईदैन र यस्ता व्यवसाय बन्द गराईदैन ?
खुल्ला स्थानमा न्यूनतम पूर्वाधार विना सञ्चालनमा रहेका मासु पसललाई बन्द गर्नुपर्ने उक्त प्रतिवेदनको सुझाव किन कार्यान्वयनमा आउला की नआउला त्यो पनि शंका कै घेरामा छ । पछिल्लो समय बजार अनुगमन र व्यवस्थापनको जिम्मा स्थानीय सरकारले पाएको छ । व्यवसाय दर्ता गराउने वा सञ्चालन गर्न दिने अधिकार पनि स्थानीय सरकारलाई नै छ । तै पनि नगरपालिकाले भाडा लिदै आएको हाटबजार स्थलमा नै अवस्था यस्तो हुनु भनेको दुर्भाग्य नै मान्नुपर्छ ।
शनिवारे हाटमा सञ्चालित मासु पसल सञ्चालनको लागि नगरपालिकावाट भाडा लिएको हुँदा मासु पसल सञ्चालनको लागि आवश्यक पूर्वाधार (मासु काटने स्थानमा मार्वल, मासु भुन्डायाउने हुक, मासु काटने मेसीन) व्यवस्था गरी एकरुपता कायम गर्नुपर्ने देखिन्छ । गर्मीको मौसम सुरु भएको छ दिनभर घाममा मासु राखेर बेच्ने, बिना जाली, बिना फ्रिज मासु बेच्ने गर्दा यसले मानवीय स्वास्थ्यमा कति असर गर्ला ? यसैका कारण जिल्ला सदरमुकाममा महामारी नफैलेला भन्न सकिन्न । अझ माढी बजार र मधुटार सदरमुकामका बाक्लो बस्ती भएका क्षेत्र हुन । यस क्षेत्रको दुर्गन्धका कारण आउने समस्या छ झनै छ ।
स्थानीय बासिन्दाको हिसाबले भन्ने हो भने कुकुरले घरघरमा राँगाका हड्डी बोकेर पु¥याएका कति पटक हामीले फाल्नु परेको तितो सत्य छ मसँग । यति धेरै समस्या हुदा हुदै पनि स्थानीय सरकार किन मौन बसेको ? सामान्य मासु छोप्ने जाली, मासु काट्नेले लाउने एप्रोन लगायतका विषय र सरसफाईको अवस्था सम्बन्धमा निरन्तर अनुगमन गर्नुपर्ने सुझाव कता पुग्यो ? उपभोक्तालाई मानवीय स्वास्थ्यमा पर्ने असरबारे किन सचेतना जगाईएको छैन ? यस क्षेत्रसंग सम्बन्धित सवै सरोकारवाला सरकारी, गैरसरकारी संघसस्थावाट सयुक्त रुपमा निरन्तर अनुगमन, अन्र्तक्रिया तथा छलफलको कार्यक्रम सञ्चालन गर्नुपर्ने ।






















