सिन्धुली । जिल्लाको पुरानो क्याम्पस सिन्धुली बहुमुखी क्याम्पस पछिल्लो चरण विवादमा मुछिएको छ । क्याम्पस प्रमुख सारदामणी खड्काले दिएको राजिनामा स्वीकृत भएसँगै क्याम्पस प्रमुख चयनलाई प्रभाव पार्न विवाद उत्कर्षमा पु¥याईएको छ । क्याम्पस प्रमुख खड्काको राजिनामा पुस १ गते स्वीकृत भएको थियो ।
राजिनामा स्वीकृत भएसँगै क्याम्पसको निमित्त प्रमुख उमेश कोइराला भएका छन । क्याम्पस प्रमुखका दावेदार समेत हुन कोइराला । कांग्रेसको एक पक्ष कोइरालालाई क्याम्पस प्रमुख बनाउने चाहनामा देखिन्छ । कांग्रेसको अर्को पक्ष, माओवादी केन्द्र र नेकपा एमाले भानुभक्त गुरुङलाई क्याम्पस प्रमुख बनाउन चाहन्छन ।
स्ववियुका सभापति कृष्ण लामिछाने बाहेक स्ववियुका सम्पूर्ण पदाधिकारी, सदस्यहरु र विद्यार्थीहरु भानुभक्त गुरुङ क्याम्पस प्रमुख भएको हेर्न चाहन्छन । जसका कारण विद्यार्थी र स्ववियुमा समेत विवाद सृजना भएको छ । स्ववियु सभापति कृष्ण लामिछानेको भूमिका सकारात्मक नभएपछि स्ववियुका पदाधिकारी र सदस्यहरुले प्राध्यापक विवाद संस्थागत निर्णय नभएको ठहर गर्दै ध्यानाकर्षण गरेको छ ।
विविए प्रथम वर्षका विद्यार्थीले विविएमा अध्यापन गराउने प्राध्यापकहरु दिपेश बराल र सन्तोष शर्माले बुझिने गरि नपढाएको भन्दै गुनासो सम्बोधन गरिदिन माग गर्दै निमित्त क्याम्पस प्रमुख कोइरालालाई निवेदन दिएका थिए । उनीहरुले क्याम्पस व्यवस्थापनलाई समेत बोदार्थ दिएका थिए । सोहि भूमिकामा स्ववियु सभापति लामिछाने समेत मुछिएका थिए ।
विवादमा मुछिएसँगै स्ववियुका पदाधिकारीहरु सदस्यहरु सबैले उनको साथ छोडेका छन । क्याम्पस विवादमा स्ववियु सभापतिको व्यक्तिगत संलग्नता रहेको र सो कार्यमा स्ववियुको संस्थागत संलग्नता नभएको भन्दै ध्यानाकर्षण गरेको हो ।
क्याम्पसको पठन पाठन बन्द गर्ने, क्याम्पसको लोकप्रियतामा आँच आउने काम स्ववियुबाट नभएको जानकारी गराएको छ । क्याम्पसको हित विपरीतका कार्य गरेकाले सभापतिले आम माफी माग्दै राष्ट्रिय मिडियामा आएको समाचारको खण्डन गर्दै स्ववियू कार्यालयमा लागेको ताला खुलाउन समेत स्ववियु सभापतिको ध्यानाकर्षण गरेको छ ।
केही दिन देखिको सामाजिक सञ्जालमा चर्चामा आएको विषयमा विद्यार्थी, क्याम्पस प्रशासन, कर्मचारी, अभिभावक तथा शुभचिन्तक सबै तर्फबाट स्ववियू माथि प्रश्न चिन्ह उठेको भन्दै स्ववियु क्याम्पसमा भएका सम्पूर्ण विवादित गतिविधिमा सामेल नभएको उल्लेख गरिएको छ । सभापतिले आफ्नो व्यक्तिगत हिसाबले चर्चा बटुल्नका लागि नयाँ विद्यार्थीहरूको हस्ताक्षर प्राध्यापक विरुद्ध प्रयोग गरेको पाइएको समेत स्ववियुको ध्यानाकर्षणमा उल्लेख गरिएको छ ।
स्ववियु कार्यकक्षमा तालाबन्दी
सिन्धुली बहुमुखी क्याम्पसमा विवाद सृजना भएसँगै विविएका विद्यार्थीले स्ववियु सभापतिको खोजी गरेका छन । उनीहरुले सिन्धुली बहुमुखी क्याम्पसको स्ववियु कार्यालयको सूचना पार्टीमा ‘सिन्धुली बहुमुखी क्याम्पस स्ववियु सभापति खै ??’ भनेर सूचना टाँस गरेका छन । स्ववियु सभापति कृष्ण लामिछाने विवाद समाधानका लागि छलफल गर्न नआएपछि उनीहरुले क्याम्पसमा भएको गतिविधि र विवाद समाधान गर्न उनीहरुले खोजी गरेका हुन । तुरुन्तै वार्ता गर्न माग समेत उनीहरुले गरेका छन । विविए संकायलाई विवादमा ल्याएको भन्दै उनीहरुले ३ दिनभित्र विवाद समाधान गर्न माग समेत गरेका छन ।
मिडिया विरुद्ध क्याम्पस
सिन्धुली बहुमुखी क्याम्पस मिडिया विरुद्ध आक्रोशित भएको छ । क्याम्पस विवादमा तानिएसँगै क्याम्पसले सामाजिक सञ्जाल र मिडियामा आएको प्रचारवाजीले शिक्षकहरु मानसिक र नैतिक रुपमा प्रभावमा परेको जनाएको छ । क्याम्पसले विज्ञप्ती जारी गरि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको प्रचारले क्याम्पसका कर्मचारी र शिक्षकहरु असुरक्षित महसुस गरेको जनाएको छ । निमित्त क्याम्पस प्रमुख उमेश कोइरालाद्धारा जारी गरिएको विज्ञप्तीमा यस्तो उल्लेख गरिएको हो ।
क्याम्पसमै आन्तरिक रुपमा विवाद समाधान गर्न सकिने विषयलाई सामाजिक सञ्जाल र मिडियामा ल्याएर छरपस्ट गर्ने काम निन्दनीय भएको समेत उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘यस्तो प्रवृतिको क्याम्पस प्रशासन घोर भत्र्सना गर्दछ ।’





















