सिन्धुली । जिल्लाका दुई सय मोतियाविन्दुका विरामीको एकै दिन शल्यक्रिया गरिएको छ । तिनपाटन गाउँपालिका, दुधौली नगरपालिका र कमलामाई नगरपालिकाका दुई सय मोतियाविन्दुका विरामीको शुक्रबार सिन्धुलीमाढीमा शल्यक्रिया गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटी आँखा उपचार केन्द्रमा उनीहरुको शल्यक्रिया भएको हो । तीनजना चिकित्सकले एकैदिन २ सय विरामीको शल्यक्रिया गरेको नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताए ।
तिलगंगा आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. रिता गुरुङ, डा. कृपा श्रेष्ठ र जानकी आँखा अस्पतालका डा. आशिष बोहोराले शल्यक्रिया गरेका हुन ।
श्रेष्ठका अनुसार केहि समय अघि स्थानीय तहहरुमा स्क्रिनिङ शिविर मार्फत पहिचान गरिएको विरामीको शुक्रबारदेखि निःशुल्क शल्यक्रिया गरिएको हो । शनिबार बाँकी विरामीको शल्यक्रिया गरिने छ । स्क्रिनिङ शिविरमा ३ सय ३० जना विरामी शल्यक्रियाका लागि पहिचान गरिएको थियो ।
तिलगंगा आँखा अस्पताल, जानकी आँखा अस्पताल जनकपुरको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीको आयोजना तथा स्थानीय तहहरुसँगको सहकार्यमा मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।





















