सिन्धुली । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् भूमि अधिकार तथा श्रमिक संगठनका केन्द्रीय अध्यक्ष शान्ता चौधरीले भूमिहिन, सकुम्बासीहरुको समस्या समाधान गर्न भूमि आयोगलाई संवैधानिक आयोग बनाउनुपर्ने बताईन । उनले भूमिहिन, सुकुम्बासी, दलित र श्रमिकहरुको समस्या समाधानका लागि सरकार फेरिएसँगै फेरिने आयोगले समस्याको समाधान नगर्ने बताएकी हुन ।
सोमबार सिन्धुलीमाढीमा आयोजित भूमि अधिकार तथा श्रमिक संगठन सिन्धुलीको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन । जुन सरकार आए पनि आयोग नढल्ने गरि काम गर्न नदिए राजनीतिक स्वार्थ अनुसार बन्ने आयोगले काम गर्न नसक्ने र भूमि अधिकारका समस्या उस्तै रहने बताईन ।
उनले जनसंगठनलाई बलियो र क्रियाशिल बनाउँदै लगेमा मात्र नेकपा एमालेले लिएको मिसन ८४ को लक्ष्य पुरा हुने बताईन । उनले विद्यार्थी, युवा, महिला र भूमि अधिकार तथा श्रमिक संगठन लगाएतका जनसंगठनहरुलाई मजबुद बनाएर संगठित गर्दै नलगे मिसन ८४ पुरा नहुने बताईन ।
चौधरीले पार्टीले जनसंगठनलाई सक्रिय बनाउन आवश्यक रहेको बताईन । उनले जनसंगठनहरु मजबुद र क्रियाशिल नभएमा पार्टी बलियो नहुने दावी गरेकी छिन ।
जनसंगठन चलायमान नभए पार्टी चलाएमान हुन नसक्ने भन्दै जनसंगठनहरु चल्ने गरि बनाउनुपर्ने सुझाव दिएकी छिन । चौधरीले पार्टीका नेताहरुले भूमिहिन, सुकुम्बासी र श्रमिकहरुका संगठनलाई अपमान र वेवास्ता गरेको आरोप लगाईन ।
उनले पार्टीको केन्द्रले भूमि अधिकार तथा श्रमिक संगठनलाई पुराना जनसंगठन सरह मान्यता दिए पनि जिल्ला जिल्लामा संगठन विस्तारमा जाँदा अपमानित हुनुपरेको समेत बताईन ।





















