सिन्धुली । सिन्धुली कारागारमा एक जना बन्दीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कारागारमा विहिबार विहान ३ बजे बेहोस भएका दुधौली नगरपालिका वडा नं. १० लखिमाका ३० वर्षिय बिमल मगरको मृत्यु भएको हो ।
राती बेहोस भएका उनलाई उपचारका लागि सिन्धुली अस्पताल लाँदै गर्दा मृत्यु भएको हो । अस्पतालमा उपचारका लागि पु¥याईएका उनको अस्पतालले पुग्नासाथ मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए ।
उनका अनुसार भाईटिकाको साँझ कारागार भित्रै देउसी भैलो खेलेर सुतेका उनी राती ठूलो स्वरमा चिच्याएपछि कैदीबन्दीले थाहा पाएका थिए । कैदी बन्दीले प्रहरीलाई मगर विरामी भई बेहोस भएको जानकारी गराएका थिए ।
प्रहरीले तुरुन्तै उपचारका लागि अस्पताल लगेको तर अस्पतालले मृत घोषणा गरेको एसपी सिलवालले जानकारी दिए । मगरको शव सिन्धुली अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । मगर सवारी ज्यान मुद्दामा असोज १७ गतेदेखि पुर्पक्षका लागि सिन्धुली कारागारमा थुनामा रहेका थिए ।
यसैबीच प्रशासनको लापरवाहिका कारण बन्दीको ज्यान गएको भन्दै मृतकका आफन्तले मदनभण्डारी राजमार्ग अवरुद्ध गरेका छन । दुधौली १० लखिमामा उनीहरुले सडक अवरुद्ध गरेका हुन । विरामी भएको समेत जानकारी नभई मृत्यु भएको खबर आएको भन्दै आफन्तले विरोध गरेका हुन ।





















