सिन्धुली । शहरी विकास मन्त्री सीता गुरुङले झोलुङगे पुलको निर्माणले नेपालका दुर्गम बस्तिलाई आर्थिक तथा पर्यटकीय विकासमा योगदान गरेको बताएकी छिन । हरिहरपुरगढी गाउँपालिकाको हाकपारा–चाईचुट्टी जोड्ने २८३ मिटर लामो झोलुङगे पुलको बिहिबार उद्घाटन गर्दै यस्तो बताएकी हुन ।
उनले झोलुङ्गे पुललाई नदीमा मानिस आवत जावत गर्ने रुपमा मात्र नलिई एउटा पहाड र अर्को पहाड जोड्ने र पर्यटकीय आर्थिक विकास गर्ने रुपमा समेत लिनु पर्ने बताईन् ।
बागमति प्रदेश सरकारको तीन करोड ३३ लाख रुपैंया लागत र स्वीस सरकारको प्राविधिक सहयोगमा निर्माण गरिएको सो पुलबाट हरिहरपुरगढी गाउँपालिका बडा नं. ४ का २ सय घरधुरीका ८ सय ४ जना लाभान्वित हुने भएका छन ।
नेपालमा २०२० सालबाट झोलुङगेपुल निर्माण सुरु भएको उनले बताईन । नेपालमा १० हजार भन्दा बढी झोलुङगे पुल निर्माण सम्पन्न भएको सुखद उपलक्षमा संयुक्त उद्घाटन समारोहको आयोजना गरिएको हो । हाल नेपालमा १० हजार ४ सय १० वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको प्रमुख अतिथी गुरुङले बताईन ।
उनले मरिण खोलामा निर्माण गरिएको उक्त झोलुङ्गे पुलको उपयोग सबै भन्दा धेरै विद्यार्थीले गर्ने भन्दै मरिणको समस्याबाट बस्तीहरु मुक्त हुने बताईन् ।
कार्यक्रममा बागमती प्रदेशका मुख्य मन्त्री शालिग्राम जम्मकट्टेलले बागमती प्रदेश सरकारले कृषिमा आधारित रोजगारीको अवसर सृजना गर्ने बताए । प्रदेश सरकारले प्रादेशिक सडक गुरु योजना तयार पारेको र त्यसलाई प्रदेश संसदबाट पारित गरेपछि कुनै पनि जिल्लाले प्रदेशमा सडकका लागि बजेट माग्न आउनु नपर्ने बताए । उनले कुन जिल्लाका कुन–कुन सडक प्रदेशबाट निर्माण गरिने भन्ने त्यसैमा उल्लेख हुने र सोही आधारमा प्राथमिकताक्रम अनुसार बजेट विनियोजन गरिने बताए ।
शिक्षा क्षेत्रको विकासका लागि बागमती प्रदेशले छुट्टै विश्व विद्यालय सञ्चालन गर्ने बताए । उनले देशमा सहि शिक्षा नीति नभएका कारण आज हजारौं विद्यार्थी विदेश गएर डाक्टर इन्जीनियर पढ्न बाध्य भएको बताए ।
सिन्धुलीको ऐतिहासिक हरिहरपुरगढी जाने बाटो निर्माण बजेटमा छुटेको भन्दै त्यसलाई विशेष सम्बोधन गरिने प्रतिवद्धता जनाए । निर्माण कम्पनीको लार्पवाहीका कारण हाकपारा बखफर पक्की पुलको निर्माण अलपत्र परेको भन्दै त्यसलाई बिशेष निगरानी गरी यसै वर्ष निर्माण सम्पन्न गराईने बताए । ठूलो लगानी गर्नु पर्ने शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युतका पूर्वाधार निर्माणमा प्रदेश सरकारले योजनावद्ध विकासको कार्यक्रम अगाडी बढाउने उनले बताए ।
प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले हिजो झोलुङ्गे पुलको आवश्यकता भएका स्थानमा पक्की पुलको आवश्यकता भएको भन्दै आवश्यकता अनुसारको योजना ल्याउन संघ र प्रदेश सरकारलाई आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसकी सचेतक तथा संघिय सांसद शुशिला थिङ, जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामा, स्वीस राजदुत, हरिहरपुरगढीका अध्यक्ष लगायतले मन्तव्य गरेका थिए ।





















