
समितिमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट तोकिएका चिकित्सक दुई जना, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि एक जना र पीडित पक्षबाट आमन्त्रित एक जना गरी चार सदस्यीय समिति गठन गर्न अनुरोध गर्ने निर्णय भएको छ । यस्तै आन्दोलन फिर्ता गर्ने, विपी राजमार्ग सुचारु गर्ने र अस्पतालका सेवा सुचारु गर्ने सहमति भएको छ ।
यस्तै अस्पताल व्यवस्थापनबाट अस्पतालका आन्तरिक सुधार, स्वास्थ्यकर्मीहरुको व्यवहार परिवर्तन गर्ने, मृतकको शव परिवारले बुझ्ने र आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने सहमति गरिएको छ ।
कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोखरेल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी उपरीक्षक राजकुमार सिलवाल, पूर्व स्वास्थ्य मन्त्री प्रदीप कटुवाल, पूर्व प्रदेश सभा सदस्य विनोद खड्का, वडा अध्यक्ष कर्ण घिसिङको रोहवरमा, मृतकको जेठाजु सोमबहादुर श्रेष्ठ, काका तुलबहादुर गुरुङ, अस्पताल विकास समितिका अध्यक्ष सतिश ढकाल र अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ड उमेश प्रधानबीच सहमति भएको हो ।
सहमति भएपछि पनि आन्दोलनकारीले आन्दोलनमा झनै चर्काएका छन । आन्दोलनका कारण अस्पताल र स्वास्थ्यकर्मी असुरक्षित हुने भएपछि शसस्त्र र जनपथ प्रहरीको दुई लाईन सुरक्षा खटाईएको छ । आन्दोलनकारीले ढुंगामुढा गरिरहेका छन । भिड नियन्त्रण हुन नसकेपछि प्रहरीले पटक पटक अश्रुग्याँस र हवाई फायर गरेको छ ।
कमलामाई नगरपालिका ५ सिलामेकी २६ वर्षकी गंगाकुमारी गुरुङ श्रेष्ठको प्रसुती गराउन सिन्धुली अस्पताल ल्याइएको थियो । डाक्टरले प्रयोग गरेको सुइका कारण मृत्यु भएको पिडित पक्षको आरोप छ । अस्पतालमा श्रेष्ठको प्रसुती सम्भावना नभएपछि दिउँसो ३ बजे अस्पतालले रिफर गरेको थियो । विरामीलाई परिवारले महोत्तरीको बर्दिबासमा रहेको नीजि अस्पताल साई मल्टिस्पेशियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टर लगेका थिए । पौने चारबजे उनलाई उक्त अस्पतालमा भर्ना गरिएकोमा अस्पतालले पाँच बजे मृत्यु भएको घोषणा गरेको थियो ।
पीडित पक्षले सिन्धुली अस्पतालमा शव ल्याएर आन्दोलन सुरु गरेका थिए । पोष्टमार्टम गर्नका लागि ट्रमा सेन्टरले चालिस हजार पैसा मागेपछि मृतकका परिवारले सिन्धुली अस्पतालमा ल्याउने अनुमति मागेका थिए । अस्पतालले अनुमति दिएको थियो । मंगलबार रातीदेखि नै अस्पतालमा पीडित पक्षले आन्दोलन गरेपछि अस्पतालका सबै सेवा अवरुद्ध भएका छन । घटनाका विषयमा छानविन गर्न समिति गठन गर्ने सहमति पछि मृतकको शव पोष्टमार्टम गरेर बुझेका छन । शव बुझिसकेपछि भिड समेत नियन्त्रणमा आएको छ ।
आक्रोशित भिडका कारण अस्पतालको इमरजेन्सी कक्ष, ओपिडि, औषधी पसल, क्यान्टिन, सामुदायिक आँखा अस्पाताल, विरामी भर्ना कक्ष, फोहोर व्यवस्थापन भवन, प्रसुति कक्ष लगाएतका सबै भवनमा क्षती पुगेको छ भने अस्पताल भित्र रहेको फोहोर व्यवस्थापन तथा निर्मलीकरण गर्ने ४५ लाख बरावरको मेसिन क्षती भएको छ ।
झडपमा छ जना प्रहरी घाईते
प्रहरी र आन्दोलनकारीबीच झडप हुदा इन्स्पेक्टर सहित ६ जना प्रहरी घाईते भएका छन । एकजना प्रहरीलाई थप उपचारका लागि काठमान्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले बताए ।
उनका अनुसार अस्पताल बाहिरको स्थिति सामान्य भए पनि स्वास्थ्यकर्मीहरुको मनोवल उच्च हुन नसकेकाले अस्पतालको सेवा सञ्चालन गर्न नसकिएको उनले बताए । उनका अनुसार स्वास्थ्यकर्मीले सुरक्षित महसुस नगरेसम्म अस्पतालको सेवा सञ्चालन गर्न स्वास्थ्यकर्मीलाई दवाव दिन प्रशासनले नसकेको जनाएको छ ।




















