सिन्धुली । सिन्धुली अस्पतालका १४ डाक्टरले सेवा प्रवाह गर्न नसक्ने भन्दै विज्ञप्ती जारी गरेका छन । उनीहरुले सुरक्षाको कारण देखाउँदै सेवा दिन नसक्ने जनाएका हुन । अस्पतालका डाक्टरहरुले मंगलबार राती र बुधबार भएको तोडफोडका कारण भएको भौतिक क्षती र स्वास्थ्यकर्मीको मानसपटनमा पर्न गएको असरका कारण सेवा प्रवाह गर्न असमर्थ रहेको डाक्टरहरुले अस्पताल प्रमुखलाई लिखित जानकारी दिएका छन ।
उनीहरुले मानसपटलमा परेको असरका कारण विरामीहरुको उपचार गर्न सक्ने अवस्था नआईसकेको भन्दै मानसिक रुपमा स्वस्थ नहुञ्जेल कुनै पनि सेवा दिन नसक्ने अस्पताल प्रमुखलाई लिखित जानकारी गराएका छन ।
उनीहरुले प्रशासनीक रुपमा कुनै दवाव आएमा सामुहिक राजिनामा दिने चेतावनी समेत दिएका छन । उनीहरुले जिल्ला प्रशासन कार्यालयलाई समेत बोदार्थ दिएर उक्त पत्र अस्पतालका प्रमुखलाई बुझाएका हुन ।
गर्भवतीको मृत्यु भएको घटनालाई लिएर आफन्त र स्थानीयले तोडफोड गरेपछि ठप्प रहेको सिन्धुली जिल्ला अस्पतालको सेवा सुचारु हुन सकेको छैन । अस्पतालका भौतिक संरचनाहरु, भवनहरु तोडफोड गरिएको थियो । पीडित पक्ष, अस्पताल प्रशासन र स्थानीय प्रशासनबीच तीन बुँदे सहमति भएपछि पीडित पक्षले मृतकको शव बुझिसकेका छन । बुधबार साँझबाट आन्दोलन सकिएको छ । घटनामा ६ जना प्रहरी घाईते भएका थिए ।
अस्पतालमा कार्यरत डाक्टरहरु प्रेरित देवकोटा, अर्पणा कार्की, अस्मिता पाण्डे, श्रेया थापा, जयन्ती चौधरी, सुजनविक्रम ढकाल, सुवास कुमार शाह, सरोज शाह, सविन बनमाला, राकेश पाण्डे, चन्दन यादव, सुदिपकुमार ठाकुर, सजिना सिलवाल र साहिल खड्काले संयुक्त रुपमा अस्पताल प्रशासनलाई सेवा दिन नसक्ने जनाएका हुन ।






















