सिन्धुली । सिन्धुलीमा कार्पस जातको भाईरसका कारण पशुहरु मर्न थालेका छन । विशेष गरि गाईमा यो रोग बढी देखिएको छ । यो रोगबाट जिल्लाका नौ पालिका मध्ये ८ पालिकाका ४२ वटा पशुहरु मरिसकेका छन ।
यो रोगका कारण सबैभन्दा बढी तीनपाटन गाउँपालिका प्रभावित भएको छ । जिल्लाभर यो रोगका कारण ८ हजार २ सय ६२ पशुहरु विरामी रहेको भेटेनेरी अस्पताल तथा पशु विज्ञ केन्द्र सिन्धुलीले जनाएको छ ।
पशुमा यो रोग लागेपछि सुरुमा खुट्टा सुन्निने, १०७ डिग्री सम्म ज्वरो आउने, शरीरमा फोका आउने गरेको केन्द्रका पशु चिकित्सक नवराज थापाले बताए । उनका अनुसार यो रोगबाट विशेष गरि गाई गोरु बाच्छा बाच्छिहरु प्रभावित रहेका छन ।
हालसम्म सुनकोशी गाउँपालिकामा यो रोगको संक्रमण भेटिएको छैन । रोगको संक्रमण हुने र मर्नेको संख्या तीनपाटन गाउँपालिकामा अत्यधिक छ । तीनपाटनमा २३ वटा गाईहरु मरेका छन भने २ हजार ३ सय ३६ पशु संक्रमित रहेका छन ।
यस्तै कमलामाई नगरपालिकामा १ हजार ९ सय ८३ पशु संक्रमित रहेका छन भने ७ वटा मरेका छन ।
त्यस्तै दुधौली नगरपालिकामा संक्रमित २ हजार १ सय ४९ पशु संक्रमित छन । मरिण गाउँपालिकामा संक्रमित १ हजार ३६ र २ पशु मरेका छन । फिक्कलमा १६० पशुमा संक्रमण छ भने १ वटाको मृत्यु भएको छ । गोलञ्जोरमा ३३५ मा संक्रमण र ९ को मृत्यु भएको छ ।
त्यसैगरि हरिहरपुरगढी २१६ मा संक्रमण र १ को मृत्यु भएको छ । घ्याङलेख गाउँपालिकामा ४७ मा संक्रमण देखिएको छ ।
यो रोगका कारण साना बाच्छा बाच्छी र कमजोर खालका गाईहरु बढी मर्ने गरेको केन्द्रले जनाएको छ । यो भाईरस नियन्त्रणको कुनै औषधि नहुने पनि केन्द्रले जानकारी दिएको छ । भाईरसका कारण कमजोर भएका पशुलाई अरु व्याक्टेरियाको संक्रमण नहोस भनेर एन्जीवायोटिक सुई दिने गरेको पशु चिकित्सक थापाले बताए ।




















