सिन्धुली । नेपाली सेनाको वर्द बहादुर गण सिन्धुलीले नवज्योति बहिरा माध्यमिक बिद्यालय जसेदमारका बहिरा विद्यार्थीहरुका लागि एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वर्द बहादुर गणको आयोजना, स्वास्थ्य कार्यालय सिन्धुली र सिन्धुली अस्पतालको समन्वयमा उक्त बिद्यालयमा स्वास्थ्य शिविर गरिएको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर नाक, कान, घाँटी र आँखाको स्वास्थ्य परीक्षणका गरिएको हो ।
स्वास्थ्य शिविरमा १०८ जना विद्यार्थीको स्वास्थ्य जाँच गरिएको छ । ६ जनालाई चस्मा लगाउन सिफारिस गरिएको छ भने ४० जनालाई निःशुल्क औषधि वितरण गरिएको छ ।
शिविरमा छात्राहरुलाई महिनावारीका बारेमा सचेतना समेत दिईएको छ भने स्यानीटरी प्याड समेत बाँडिएको छ । बर्द बहादुर गणका गणपति रमेश थापाले सैनिक र नागरिक बिच प्रगाण सम्बन्ध स्थापनाको लागि शिविर आयोजना गरिएको बताए ।
नवज्योति बहिरा माध्यमिक बिद्यालय २०६० सालमा स्थापना भई २०६४ सालबाट निरन्तर रुपमा सन्चालन भइरहेको छ । हाल कक्षा १२ सम्ममा ३२ जिल्लाका १ सय ९४ जना बहिरा बालबालिकाले अध्ययन गरिरहेका छन । यो आवासिय विद्यालय हो ।






















