स्थानीय तहका प्रमुख उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको भागबण्डा मिलेपछि माओवादी केन्द्रले उमेदवारको टुंगो लगाएको छ । शुक्रबार माओवादी केन्द्र सिन्धुलीले आफ्नो पार्टीको तर्फबाट प्राप्त पालिका प्रमुख उपप्रमुखका उमेदवारहरू टुंगो लगाएको हो ।
जिल्लाका दुई नगरपालिका र सात गाउँपालिका रहेकोमा एक नगरपालिका सहित कांग्रेसले पाँचवटा पालिका र माओवादी केन्द्रले एक नगरपालिका सहित चारवटा पालिकामा प्रमुख सहित चुनावी तालमेल गर्ने विहिबार निर्णय गरेको थियो ।
उक्त निर्णयसँगै माओवादी केन्द्रले पाएको चार पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुख पदका उमेदवार चयन गरेको हो । माओवादीले दुधौली नगरपालिकाको प्रमुखमा दिनेश अधिकारी, सुनकोशी गाउँपालिकाको अध्यक्षमा दिपा बोहोरा दाहाल, मरिण गाउँपालिकाको उमेदवारमा विमर्श मोक्तान (प्रख्यात) र हरिहरपुरगढी गाउँपालिकाको अध्यक्षमा वज्रध्वज वाईवालाई उमेदवार बनाएको हो ।
यस्तै गठबन्धनमा उपप्रमुख पाएका स्थानीय तहमा पनि माओवादीले उमेदवारको टुंगो लगाएको छ । कमलामाई नगरपालिकाको उपमेयरमा दिर्घराज श्रेष्ठ, तिनपाटन गाउँपालिकामा अशोक पुलामी, फिक्कल गाउँपालिकामा लोकेन्द्र कार्की, गोलन्जोर गाउँपालिकामा ज्वाला प्रसाद न्यौपाने (पुकार) र घ्याङलेखमा शंकरमान घलानलाई उपप्रमुखको उमेदवार बनाएको छ ।
गठबन्धनबाट प्राप्त सिटमा उमेदवार छानेको माओवादीले ९ जनामा एकजना मात्र महिलालाई उमेदवार बनाएको छ । पालिका प्रमुख तथा उपप्रमुखमा भागबण्डा गरेका नेपाली कांग्रेस र माओवादी केन्द्रले वडा अध्यक्षहरूको भने टुंगो लगाएको छैन ।




















