सिन्धुली । जिल्लामा ३३ हजार १ सय ९७ विपन्न परिवारले राहत पाएका छन । लकडाउनका कारण खाद्य संकटमा परेका असंगठित क्षेत्रका मजदुर र अतिविपन्न, अशक्त परिवारले उक्त राहत पाएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकाले उक्त राहत वितरण गरेका हुन । जिल्लामा लकडाउनका कारण रोजगारी गुमाएका र दैनिकी चल्न छोडेका परिवारलाई स्थानीय तहहरुको सक्रियतामा उक्त राहत वितरण भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत भिम बहादुर बस्नेतले बताए ।
उनका अनुसार कमलामाई नगरपालिकाले ८ हजार ८ सय ९०, दुधौली नगरपालिकाले ७ हजार ९९, तिनपाटन गाउँपालिकाले २ हजार ८ सय ९२, फिक्कल गाउँपालिकाले १ हजार ५ सय ७९, गोलञ्जोर गाउँपालिकाले २ हजार ५ सय ७९, घ्याङलेख गाउँपालिकाले ७ सय ६, मरिण गाउँपालिकाले ६ हजार १ सय १, हरिहरपुरगढी गाउँपालिकाले ८ सय ६७ र सुनकोशी गाउँपालिकाले २ हजार ४ सय ८४ परिवारलाई राहत वितरण गरेका छन ।
लकडाउनका बेला वितरण गरिएको राहत पछि स्थानीय तहले रोजगारी दिन समेत सुरु गरेका छन । राहत वितरणमा लगानी धेरै भएकाले स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रम तथा अन्य विकासका काम दिई ज्याला दिन सुरु गरेका हुन ।
जिल्लाका सुनकोशी गाउँपालिका र मरिण गाउँपालिकाले काम अनुसारको ज्याला दिन सुरु गरेका छन भने अन्य स्थानीय तहले पनि काम दिन योजना बनाईरहेका छन ।




















