सिन्धुली । लकडाउनको अवस्थामा महंगी बढेको र मुल्यमा एकरुपता नदेखिएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सिन्धुलीमाढीमा रहेका खाद्यान्न डिपो तथा पसलहरुको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा म्याद गुज्रेका खाद्यबस्तु भेटिएका छन । दुई दर्जन बढी टिपो तथा पसलहरुमा गरिएको अनुगमनमा अखाद्य वस्तु विक्रि भईरहेको पाईएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत भिम बस्नेतले बताएका छन ।

सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धि प्रकाश सिग्देलको नेतृत्वमा कमलामाई नगरपालिका वडा नं. ६ रातमाटा र वडा नं. ४ ढुङग्रेबासमा रहेका दुई दर्जन खाद्यान्न डिपो तथा पसलहरुको अनुगमन गर्दा म्याद नाघेका खान अयोग्य भएका खाद्यान्न बस्तुहरु भेटिएको उनले बताए । म्याद नाघेका र खान अयोग्य वस्तुलाई बरामद गरि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा लगि नष्ट गरिएको बस्नेतले जानकारी दिए ।
अनुगमनमा १२ बोरा बोडी, एक कार्टुन रियल जुस, एक कार्टुन लिची जुस, एक कार्टुन कुरकुरे, एक कार्टुन चाउचाउ, एक कार्टुन बिस्कुट नष्ट गरिएको उनले बताए । मुल्य वृद्धि भने नभएको पाईएको बस्नेतले बताए ।
अनुगमनमा खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख प्रेम अर्याल, घरेलु उद्योग बिकास कार्यालय सिन्धुलीका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रतिनिधि, वडाका जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।




















