सिन्धुली । कोरोना उपचारका लागि तयार गरिएका विभिन्न स्वास्थ्य संस्थाका आइसोलेसन आईसोलेसन वेडहरुले मापदण्ड पुरा गर्न सकेका छैनन ।
सिन्धुली अस्पतालमा रहेको १४ वेड आइसोलेसन बाहेक अन्यत्रका आइसोलेसन वेडमा आइसोलेसनमा भर्ना हुने विरामीका लागि अत्यावश्यक अक्सिजनको समेत व्यवस्थापन हुन नसकेको पाईएको हो ।
तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापाले लाम्पानटार प्राथमिक स्वास्थ्य केन्द्र र बेलघारी स्वास्थ्य केन्द्रमा आइसोलेसन बनाए पनि स्वाव निकाल्ने किट र आवश्यक दक्ष जनशक्ति नभएको उनले बताए ।
थापाले जनाए अनुसार आइसोलेसनमा विरामी भर्ना गरेको भए पनि उनको स्वाव निकाल्न नत किट्स छ नत निकाल्न सक्ने दक्ष प्राविधिक नै । तिनपाटन गाउँपालिकामा मात्र हैन जिल्लामा स्थापना भएका प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट, प्राथमिक स्वास्थ्य केन्द्र सिथौली, शुभजीवन अस्पताल गोलञ्जोर, आत्मीय सामुदायिक अस्पताल सुनकोशी, फिक्कलको खाङसाङमा रहेका आइसोलेसनले मापदण्ड पुरा गरेका छैनन ।
कोरोना संक्रमणको उपचारका लागि बनेका ती आइसोलेसन स्वास्थ्य सामग्री अभाव, प्राविधिक जनशक्ति अभावमा रहेका छन । बेड र सामान्य औषधि बाहेक अत्यावश्यक अक्सिजन समेत नरहेको गाउँपालिका तथा नगरपालिकाका प्रमुखहरुले बताएका छन । जिल्लामा रहेका ३३ वेड आइसोलेसनमध्ये सिन्धुली अस्पतालमा १४ वेड सञ्चालन गरिएको छ र स्वाव झिक्ने १ जनामात्र कर्मचारी छन । अक्सिजन लगाएतका सामग्री उक्त अस्पतालमा छन । भेन्टिलेटर सहितका आइसियु बनाउने बाग्मति प्रदेश सरकार र संघिय सरकारले घोषणा गरे पनि त्यो पनि बन्न नसकेको अवस्था छ ।




















