सिन्धुली । जिल्लामा रहेका एम्बुलेन्सहरुलाई एकीकृत गरि जिपिएस प्रणाली मार्फत सञ्चालन तथा व्यवस्थापन गर्नका लागि डिसप्याच सेन्टरको स्थापना गर्ने विषयमा बुधबार सिन्धुलीमाढीमा छलफल गरिएको छ । दुर्घटनाका घाइते तथा विरामीहरुलाई अस्पताल पु¥याउनु पूर्व गरिने उपचारलाई प्रभावकारी बनाउने र एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउने उद्देश्यले उक्त छलफल गरिएको हो ।
छलफलमा सहभागिहरुले सिन्धुली जिल्ला तीन वटा राष्ट्रिय राजमार्गले जोडिएको र दुर्घटना हुने दर बढीरहेकाले जिल्लामा डिस्प्याच सेन्टर आवश्यक रहेको बताएका छन । एम्बुलेन्स व्यवस्थापन र मानवीय क्षतीलाई कम गर्नका लागि सबै स्थानीय तहका प्रमुखहरुले डिस्प्याच सेन्टर स्थापनामा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन ।
छलफलका क्रममा कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्री, दुधौली नगरपालिकाका मेयर घनश्याम राउत, फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्की, मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन, घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलन, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामाले डिस्प्याच सेन्टर स्थापनामा सहयोग गर्ने र एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन आफ्नो स्थानीय तह मातहतमा रहेका एम्बुलेन्सको सेवा सुविधा वृद्धि गरि ख श्रेणीको सुविधा व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
यस्तै थप एम्बुलेन्स खरिद गर्दा नेपाल सरकारको मापदण्ड अनुसार ख श्रेणीको एम्बुलेन्स खरिद गर्ने समेत स्थानीयत तहका प्रमुख तथा प्रतिनिधिहरुको प्रतिवद्धता रहेको छ । यस्तै अन्य तीन वटा पालिकाहरु तीनपाटन गाउँपालिका, सुनकोशी गाउँपालिका र गोलञ्जोर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखहरुले समेत कार्यपालिकाको बैठक र आगामी कार्ययोजना बनाउँदा डिस्प्याच सेन्टरका बारेमा ध्यान दिईने बताए । 
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक शंकरराज बर्मा तिवारीले जिल्लाका सबै स्थानीय तहलाई डिस्प्याच सेन्टर स्थापनाका लागि जुट्न आग्रह गरेका छन ।
यस्तै प्रमुख जिल्ला अधिकारी एवम् एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष जनार्दन गौतमले जिल्लाका एम्बुलेन्सलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए । एम्बुलेन्स सञ्चालकहरुले नाफा र व्यापारका लागि एम्बुलेन्स प्रयोग गर्ने गरेको बताएका छन । जिल्लाका एम्बुलेन्सले सहि र आपतकालिन अवस्थामा सुविधा दिन नसकेको बताए । मानवीय संवेदनालाई समेत ख्याल गर्दै एम्बुलेन्सलाई नियमन र कारवाहिको दायरामा ल्याउन आवश्यक रहेकोे बताए । उनले विकृति कम गर्न छिटो भन्दा छिटो डिस्प्याच सेन्टरको स्थापना हुन आवश्यक रहेको समेत बताए ।
कार्यक्रममा बोल्दै जिल्ला प्र्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलले दुर्घटनाका विरामीलाई मोटर साईकल, अटो, ट्याक्टरमा हालेर अस्पताल पु¥याउने बाध्यता रहेको बताउँदै घाइते र मृत शरीर व्यवस्थापनामा जिल्लाका सरोकारवाला जिम्मेवार हुनुपर्ने अवस्था रहेको बताईन ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डेले जिल्लाका मुख्य राजमार्गमा हुने दुर्घटना, सुत्केरी तथा नवजात शिशु जोखिम न्युनिकरणका लागि सिन्धुली अस्पताल र राजमार्ग क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई केन्द्रीत गरि डिस्प्याच सेन्टर स्थापना गर्न आवश्यक रहेको बताइन ।
जिल्लाका नौ वटै स्थानीय तहका प्रमुखहरु, नौ वटै तहका स्वास्थ्य तथा शिक्षा शाखाका प्रमुख तथा उपप्रमुखहरु सञ्चारकर्मी, रेडक्रसकर्मी लगाएतको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय उपनिर्देशक वालकृष्ण सेढाईले डिस्प्याच सेन्टर स्थापनाको लक्ष्य महत्व र फाईदाका बारेमा जानकारी गराएका थिए भने धुलिखेल अस्पतालको आकस्मिक कक्षका प्रमुख डा. सानु कृष्ण श्रेष्ठले अस्पताल पुग्नुपूर्वको उपचारका बारेमा जानकारी गराएका थिए ।





















