सिन्धुली । चाडवाडको अवसर पारेर कार्तिक १ गतेदेखि ९ गतेसम्म सिन्धुलीको भिमानमा सहिद ऋषिराज देवकोटा आजाद स्मृति फुटवल प्रतियोगिता हुने भएको छ । भिमान युवा क्लबको आयोजनामा हुन थालेको उक्त प्रतियोगिताको तयारी अन्तिम भएको पत्रकार सिन्धुलीमाढीमा पत्रकार सम्मेलनको आयोजना गरि बुधबार जानकारी दिईएको छ ।

उक्त खेल १ गते ११ बजे संघिय सांसद एवम् नेकपाकी नेतृ गोमा देवकोटाले उद्घाटन गर्नेछिन । उनी सहिद आजादकी पत्नि हुन । उक्त खेलका लागि ९ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगिता सञ्चालनका लागि ५ लाख रुपैंया सहयोग कमलामाई नगरपालिकाले गरेको छ ।
उक्त खेलमा विजयी हुने टिमले एकलाख ७५ हजार रुपैंया राशीको नगद पुरस्कार मेडल र ट्रफी पाउने छ भने उपविजेताले १ लाख नगद पुरस्कार मेडल र ट्रफी पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव दिनेश न्यौपानेले बताए । उनले सिन्धुलीमा भएका प्रतियोगितामा सबैभन्दा बढी राशिको पुरस्कार रहेको दावी समेत गरे ।
जिल्ला बाहिरका खेलाडीलाई क्लबले खाने बस्ने र सामान्य यातायातको व्यवस्था गरिएको पनि क्लबका सचिव न्यौपानेले बताए । दर्शकका लागि पैसा तिर्न समेत नपर्ने उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग बहादुर खत्रीले नगरपालिकाले खेलकुद विकासका लागि यो वर्ष ५० लाख छुट्याईएको बताए । उनले नगरपालिकाका १४ वटै वडामा युवा क्लब गठन गरि खेल विकासमा काम गर्ने बताए । उनका अनुसार सहिदहरुलाई स्थानीय सरकारले सम्बोधन गर्नुपर्ने मान्यता अनुरुप आजादको नगरीमै फुटबल प्रतियोगिताको आयोजना गरिएको बताए । उनले आजाद स्मृति दिवस फागुन १२ गते नगरस्तरीय भलिवल प्रतियोगिता समेत आयोजना गरिने बताए ।




















