सिन्धुली । दशैंको फूलपातीको अवसर पारेर नेपाली सेनाको वर्द बहादुर गण र कमलामाई नगरपालिकाको सहयोगमा पुनःनिर्माण भएको कमलामाई नगरपालिका वडा नं. २ स्थित भद्रकाली मन्दिर एक औपचारिक कार्यक्रमका बीच मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

कमलामाई नगरपालिकाले गत वर्षबाट भद्रकाली मन्दिरमा बोका बली सहित फूलपातीका दिन विशेष पूजाको समेत सुरुवात गरेको छ । शनिबार पनि नगरपालिकाले बोका वली दिएर विशेष पूजा समेत ग¥यो ।
कमलामाई नगरपालिका वडा नं. २ का वडाध्यक्ष नवराज थिङको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख खत्रीले भद्रकाली मन्दिरलाई शक्तिपिठका रुपमा स्थापित गर्दै धार्मिक पर्यटकीय स्थलका रुपमा समेत विकास गर्ने बताए । भद्रकाली मन्दिर ऐतिहासिक सिन्धुलीगढी र पृथ्वी नारायण शाहसँग जोडिएको बताउँदै उनले सिन्धुलीगढीसँगै भद्रकाली मन्दिरको विकास गरिने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, श्री ९ नं वाहिनीका बाहिनीपति गणेश कुमार श्रेष्ठले मन्दिरलाई व्यवस्थित रुपमा संरक्षणको आवश्यकता रहेको औंल्याएका थिए । कार्यक्रममा वर्द बहादुर गणका गणपति राजीव थापाको तर्फबाट निर्माणमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।




















