सिन्धुली । जिल्लामा राजनीतिक व्यवस्था परिवर्तनसँगै बढ्दै गएको सडक निर्माणले वन अतिक्रमण हुने क्रम बढेको छ । नेपाल सरकारको तथ्यांकमा ७ हजार ४ सय हेक्टर वन अतिक्रमण भएको देखिए पनि जिल्लामा १२ हजार हेक्टर वन अतिक्रमण भएको पाईएको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ । तत्कालिन जिल्ला वन कार्यालयले तयार पारेको प्रतिवेदन अनुसार सात हजार ४ सय वन अतिक्रमण भएको देखिएको डिभिजनल वन अधिकृत नारायण श्रेष्ठले बताए ।
उनका अनुसार वास्तविक अनुगमनका क्रममा १२ हजार हेक्टर वढी वन अतिक्रमण भएको पाईएको छ । गत आर्थीक वर्षमा जिल्ला वन कार्यालयले जिल्लाको हर्षाही गाविसमा अतिक्रमित २० हेक्टर जमिनवाट वस्ती हटाउने वा फडानी रोक्ने प्रयास गरेको भएपनि राजनीतिक दलको असहयोगका कारण त्यो सम्भव नभएको उनले वताए ।
सबैभन्दा बढी अतिक्रमण हुनेमा कमलाखोंच र मरिण क्षेत्र रहेका छन । निर्माणाधिन मदनभण्डारी राजमार्ग आसपासमा बढी अतिक्रमण भएको श्रेष्ठले बताए ।उनले राजनीतिक दलको संरक्षणमा अतिक्रमण भएको बताउँदै राजनीतिक प्रतिवद्धता भएमा अतिक्रमण केहि वर्षमै रोक्न सकिने पनि बताए ।
अन्यत्र नम्वरी जमिन भएका व्यक्तिहरु नै राजमार्गको विस्तार भएपछि उनीहरु राजमार्ग छेउको जमिन मुल्यवान हुने भन्दै अतिक्रमणमा लागेको देखिएको पनि उनले बताएका छन । जिल्लामा ३ ठूला राजमार्ग विस्तारसँगै अतिक्रमण बढेको छ । अतिक्रमण विशेष गरि विपी राजमार्ग, मध्ये पहाडी र हेटौडा–चतारा राजमार्ग विस्तार आसपासमा भएको पनि उनले जनाए ।




















