सिन्धुली । शनिबार दिउँसो विपी राजमार्गमा मिनिबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २५ जना घाईते भएका छन । घाईतेमध्ये ५ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
काठमान्डौबाट सिराहातर्फ जाँदै गरेको वा३ख२३५९ नम्बरको बस सिन्धुली र काभ्रेको सिमाना नजिक सुनकोशी गाउँपालिका वडा नं. १ देविस्थानमा बस दुर्घटना भएको हो । मृत्यु हुनेमा सिराहा इनरवा नगरपालिका ८ का ३५ वर्षिय राम अवतार पण्डित, सप्तरीको राजविराज नगरपालिका वडा नं. ७ बस्ने २१ वर्षिय लक्ष्मी देव र ठेगाना नखुलेका करीब ३५, ४० वर्षका दल बहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्र बहादुर सिंहले बताए ।
गम्भिर घाइते तथा अन्य घाईते गरि ८ जनाको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ भन १९ जना अन्य घाईतेहरुको खुर्कोटमा रहेको भरोसा अस्पताल र शुभजीवन अस्पतालमा उपचार भईरहेको सिंहले बताए । तिब्र गतिका कारण अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ । गाडीका चालक लिखु तामाकोशी ६ रामेछापका चन्द्र बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




















