सिन्धुली । मालपोत कार्यालय सिन्धुलीले एकवर्षमा करिव १४ करोड राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा मालपोत कार्यालयले १३ करोड ९० लाख ९२ हजार ६ सय ४० रुपैया राजश्व संकलन गरेको कार्यालयका सूचना अधिकारी पुरुषोतम दाहालले बताए ।
कार्यालयले सवैभन्दा बढी घरजग्गा रजिष्ट्रेशन दस्तुरबाट ८ करोड ६० लाख ३९ हजार ९ सय १४ रुपैया संकलन गरेको छ भने धितोबाट १ करोड ३५ लाख ५० हजार ८ सय ८ रुपैया, सेवा शुल्कबाट १० लाख ९५ हजार ६ सय ५८ रुपैया, रोक्का दस्तुर एक लाख २९ हजार ८ सय ८० रुपैया, पूर्जा विक्रीवाट ९० हजार ६ सय ५० रुपैया, पूँजिगत लाभकरबाट ३ करोड ७१ लाख २५ हजार ८ सय ३० रुपैया संकलन गरेको दाहालले बताए ।
कार्यालयले संकलन गरेको पूँजीगत लाभकर सवै संघीय सरकारमा जाने र अन्य शिर्षकबाट संकलन भएको राजश्व भने बाडँफाड हुने दाहालले बताए । अन्य शिर्षकमा उठेको करबाट ०.२५ प्रतिशत रकम मालपोत कार्यालय कार्यालय संचालनका लागी राखिने र बाँकी रहेको रकममध्ये सम्वन्धित प्रदेश सरकारलाई ४० प्रतिशत र जिल्लामा रहेका नौ वटा स्थानीय तहलाई ६० प्रतिशत रकम बाँडफाड गरिएको उनले बताए ।





















