सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ५ को कालीमाटीमा सुविधा सम्पन्न जिल्ला स्तरको सिन्धुली रंगशाला बन्ने भएको छ । जसको शनिबार विहान एक औपचारिक कार्यक्रम गरि शिलान्यास गरिएको छ । प्रतिनिधि सभा सदस्य तथा पूर्व कृषि मन्त्री हरिवोल गजुरेलले रंगशालाको शिलान्यास गरेका हुन ।
सामाजिक विकास मन्त्रालय प्रदेश नं. ३ को १३ करोड ४३ लाख ५८ हजार ३९७ रुपैंयाको लागतमा उक्त रंगशाला निर्माण हुन थालेको हो । एकसय मिटर लम्बाई र ६० मिटर चौडाई रहेको खेलमैदान सहितको सुविधासम्पन्न रंगशाला निर्माण गर्न थालिएको सार्वजनिक निर्माण कार्यान्वयन ईकाई धुलिखेलका प्रमुख पूर्ण बहादुर दर्जीले बताए । उनका अनुसार ५ वर्षमा यो योजना सम्पन्न हुने छ । पार्किङ, चेन्जिङ रुम, शौचालय, खेलमैदान, अफिसियल रुम, मिटिङ हला लगाएतको सुविधा सहितको रंगशाला निर्माण हुने भएको उनले बताए ।
रंगशालामा एक हजार ५ सय जना दर्शकले खेल हेर्न सक्ने छन । ४० रोपनी जग्गामा उक्त रंगशाला निर्माण हुने छ । कमलामाई नगरपालिका सिन्धुलीले उक्त रंगशालाका लागि जग्गा उपलब्ध गराएको छ ।
गत आर्थिक वर्षमा डिपिआर सम्पन्न भई बजेट विनियोजन र निर्माण सम्झौता भएको उक्त योजनाको पहिलो चरणमा यो वर्ष ६ महिनामा गतवर्ष विनियोजित डेढ करोड र चालु वर्षमा विनियोजन भएको २ करोडको काम सम्पन्न गर्नुपर्ने छ । उक्त रंगशालाको निर्माणको जिम्मा तामाङ–मरिण कन्ट्रक्सनले पाएको छ ।
दुधौलीमा क्षेत्रीय रंगशाला बन्दै
सिन्धुलीको दुधौलीमा पनि प्रदेश नं. ३ को सामाजिक विकास मन्त्रालयले क्षत्रीय रंगशाला बनाउन सुरु गर्ने भएको छ । डिपिआर तयार भई उक्त रंगशालाको काम पनि भदौ १० गतेदेखि सुरु हुने सार्वजनिक निर्माण कार्यान्वयन ईकाई धुलिखेलका प्रमुख दर्जीले बताए ।
उक्त रंगशाला पनि एक हजार ५ सय जनाको क्षमताकै रहने छ । २४ रोपनी ३ आना जग्गाको क्षेत्रफलमा दुधौली नगरपालिका वडा नं. ९ को दुधौली बजारमा उक्त रंगशाला बनाईदै छ । ६ करोड ९४ लाख ९२ हजार ४७४ हजार रुपैंया लागतमा उक्त रंगशाला निर्माण हुन थालेको हो । करीव ३ वर्षमा निर्माण सम्पन्न हुने उक्त रंगशाला निर्माणको जिम्मा ए.एम÷पाइनस जेवीले पाएको छ । उक्त रंगशालाको प्रदेशसभा सदस्य लेखनाथ दाहाल (राजन) ले गर्नेछन । जसका लागि गतवर्ष २ करोड ५० लाख र यो वर्ष १ करोड रकम विनियोजन भईसकेको छ ।





















