सिन्धुली । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवसका अवसरमा मंगलबार पुष्पलाल लोकमार्गमा वृक्षारोपण गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी सिन्धुलीको अगुवाईमा खुर्कोटदेखि घुर्मीसम्म रागमार्गको किनारमा वृक्षारोपण गरिएको हो । राजमार्गको ६० किलोमिटर क्षेत्रमा एक हजार विरुवा वृक्षारोपण गरिएको नेकपा सिन्धुलीले जनाएको छ । सडक किनारको अवस्था हेरी समी, गुलमोर, अशोक, बेल, कपुर, मसला लगायत सात जातका विरुवा रोपिएको नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहालले बताए ।
वृक्षारोपणमा नेकपा सिन्धुलीका सह–इन्चार्ज उमादेवी कोइराला, जिल्ला अध्यक्ष राजन दाहाल, सचिव प्रदीप कटुवाल, प्रदेशसभा सदस्य विनोद खड्का, मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जन फिक्कल गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवार लगायत जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
स्थानीय पार्टी संगठन र जनप्रतिनिधिहरुलाई विरुवाको संरक्षणको जिम्मेवारी दिदैं पहिरोको जोखिममा रहेको राजमार्गको संरक्षणका लागि वृक्षारोपण गरिएको अध्यक्ष दाहालले बताए ।





















