सिन्धुली । सिन्धुलीका पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन । नेपाल पत्रकार महासंघ सिन्धुलीको सोमबार विहान बसेको बैठकले पत्रकार सुरक्षा र प्रहरीको कुटाईबाट घाइते भएका महासंघका अध्यक्ष होमकुमार दाहाल र मिनकुमार दाहलको न्यायको माग गर्दै सांकेतिक आन्दोलन स्वरुप ३ दिन कालोपट्टी बाँधेर कार्यस्थलमा जाने निर्णय गरेसँगै पत्रकारहरुले कालोपट्टी बाँधेर काममा गएका हुन ।

महासंघले सोमबार, मंगलबार र बुधबार कालोपट्टी बाँध्ने निर्णय गरेको महासंघका सचिव विदुर पौडेलले बताए । यसैबीच पत्रकार महासंघको टोलीले दोषीलाई कारवाहिको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा घटनामा संलग्न प्रहरी विरुद्ध किटानी जाहेरी दिएको छ ।
महासंघका सचिव विदुर पौडेलले पीडितका तर्फबाट किटानी जाहेरी दिएका हुन । ज्यान मार्ने उद्योगमा महासंघले जाहेरी दिएको छ । जाहेरी जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी लोकदर्शन थापाले बुझे पनि १० नं. डायरीमा जाहेरी दर्ता गरिको छैन ।
पक्राउ परेका अभियुक्त प्रहरी हवल्दार सलाम सिंह लामा र विकास स्याङतानलाई थुनामै राखिएको छ ।




















