सुनकोशी । सुनकोशी गाउँपालिका–६ खाल्टेस्थित आमपानी खोल्सोमा रातो माटो खन्ने क्रममा ढिस्को खसेर एक महिलाको मृत्यु भएको छ भने दुई घाईते भएको छ । मृत्यु हुनेमा सुनकोशी गाउँपलिका–६, माथिल्लो चैनपुरकी २४ वर्षीय सर्मिला रम्तेल रहेको प्रहरीले जनाएको छ ।
घटनामा घाइते भएकी सोही ठाउँकी ३५ वर्षीया विमला रम्तेलको स्थानीय आत्मीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सामान्य घाईते १८ वर्षीय बलराम रम्तेलको हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घटनापछि स्थानीयले खनेर पुरिएको ठाउँबाट शव र घाइतेलाई निकालेका थिए । माटो निकाल्न चार जना गएकोमा ढिस्को झरेपछि दुईजना भागेका थिए । अर्का एक जना सकुसल रहेको छ ।
घटना हुनुभन्दा केही अघि मात्र स्थानीय चार जनाले माटो निकालेर लगेको जनाइएको छ । सो स्थानमा धेरै समयदेखि रातो माटो निकाल्ने गरिएकाले सुरुङजस्तो बनेको थियो । खाल्टेबाट गाउँखर्क, मझुवा, नागी जाने बाटोको छेवैमा रहेको माटो निकाल्ने ठाउँमा सुख्खा ढिस्को खसेको थियो । आर्थिक रुपमा विपन्न स्थानीय दलित समुदायले रातो माटो निकालेर महाभारत क्षेत्रका नागी, मझुवातिर लगेर आलुमा साट्ने गरेका छन् । दश पाथी रातो माटो लैजादा पाँच पाथी आलु साट्न पाइने स्थानीय बताउँछन् ।




















