सिन्धुली/करीव ३ वर्षमा घरभित्रका परिवार तथा श्रीमानका कारण पीडित हुने महिलाको संख्या १७० पुगेको तथ्यांक प्रहरीसँग छ ।
जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र सिन्धुलीमा आएका मुद्दामा अधिकांश महिलाहरु श्रीमानबाट पीडित भएको देखिएको छ जसमा अत्यधिक महिलालाई मदिरा सेवन गरी श्रीमानहरुले यातना दिएको देखिएको छ ।
श्रीमान बाहेकका परिवारका अन्य सदस्यले यातना दिएका घटना भने नगन्य रुपमा आउने गरेको महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख असई रचना लामिछानेले बताईन ।
उनका अनुसार २०७३÷०७४ देखि २०७६ जेठ मसान्तसम्मको तथ्यांकमा खानलाउन नदिने, घरखर्च नदिने, बालबालिकाको स्वास्थ्य, शिक्षामा ध्यान नदिएको भन्दै ५७ वटा उजुरी आएका छन ।
यस्तै यो अवधिमा मानसिक यातना दिनेको संख्या पनि उत्तिकै देखिएको छ । धाकधम्कि दिने, गाली गलौज गर्ने लगाएतका मानसिक यातना दिएको भन्दै ५३ जना महिलाले उजुरी दिएका छन ।
सेवा केन्द्रमा आएका घरेलु हिंसाका अधिकांश मुद्दाहरु मेलमिलाप भएका देखिन्छन । यो अवधिमा १२९ मुद्दाहरु मिलापत्र भएका छन । घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ को पीडितले चाहेमा प्रहरी कार्यालयले मुद्दा दर्ता भएको तीस दिनभित्र दुवै पक्ष बीच मेलमिलाप गराइदिनु पर्ने प्रावधानका कारण अधिकांश मुद्दाहरु मिलापत्र हुन्छन ।
३ वर्षको अवधिमा २ वटा मुद्दा मात्र प्रहरीबाट अदालतमा गएका छन भने ३५ वटा मुद्दा कारवाहि प्रक्रियामा रहेका छन । यसरी मेलमिलाप गराउँदा पीडितलाई पर्न सक्ने मनोवैज्ञानिक तथा सामाजिक प्रभाव र गोपनीयताको अधिकार समेतलाई ध्यानमा राख्नु पर्ने ऐनको प्रभावका कारण अधिकांश महिला नचाहेर पनि मिलापत्र गर्न बाध्य रहेको केन्द्रका प्रमुख लामिछानेले बताईन ।
घरेलु हिंसाका मुद्दाको संख्या भने गत वर्षको तुलनामा आधा घटेको छ । गत वर्ष ७४ जना महिला पीडित भएकोमा यस वर्ष ३७ जना मात्र छन । स्थानीय तहमा न्यायीक समितिहरु स्थापना भई सक्रियता देखाउन थालेपछि महिला तथा बालबालिका सेवा केन्द्रमा आउने घरेलु हिंसाका घटनामा कमी आएको प्रहरीले जनायो ।





















