सिन्धुली । रोशी खोलाको बाढीले डाईभर्सन कटान गरेपछि पाँचदिनदेखि अवरुद्ध भएको विपी राजमार्ग मंगलबारदेखि सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण आएको बाढीले आठ स्थानमा अवरुद्ध भएको उक्त राजमार्गमा निर्माणाधीन स्थायी ट्रयाकबाट यातायात सञ्चालन गर्ने गरि राजमार्ग सञ्चालनमा ल्याईएको हो ।
पाँचदिन देखि अवरुद्ध राजमार्ग मंगलबारबाट सुचारु गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
विगतका वर्षमा रोशीमा आएको बाढीका कारण राजमार्गको स्थायी सडक संरचनामा क्षति पुगेपछि रोशी खोलाको बगर हुँदै बनाइएको अस्थायी ट्रयाकबाट सवारी साधन सञ्चालन गरिँदै आएको थियो ।
रोशी खोलामा पानीको बहाव अझै नघटेकाले स्थायी ट्रयाक निर्माणको कामलाई तत्कालका लागि रोकेर यातायात सञ्चालन गरिएको छ ।
वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा सडक कटान, डाइभर्सनमा क्षति तथा बाढीले सडक संरचना प्रभावित पारेपछि यातायात सञ्चालनमा समस्या भएको थियो ।
जसका कारण पूर्वी नेपालबाट काठमान्डौ भित्रने र काठमान्डौबाट पूर्वी नेपाल जाने सवारी साधनहरु आवागमनमा समस्या भएको थियो ।





















