सिन्धुली। मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा बसको ठक्करबाट एक कार सुनकोशी नदीमा खसेको छ।
सोमबार दिउँसो सडक छेउमा रोकेर राखिएको कारलाई काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको वा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिँदा कार नदीमा खसेको हो। प्रारम्भिक जानकारीअनुसार कारमा तीन जना सवार रहेका थिए।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रविन्द्र बहादुर सिंहका अनुसार कार सुनकोशी नदीमा खसेको पुष्टि भए पनि नदीमा कार देखिएको छैन। मध्यपहाडी राजमार्ग पुनःनिर्माणको ठेकेदार कम्पनीको कार भएको जानकारी प्राप्त भए पनि कारमा सवार व्यक्तिको संख्या तथा परिचयबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय खुर्कोट, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली तथा स्थानीय जनप्रतिनिधि र स्थानीयवासी घटनास्थलमा पुगेर कार तथा त्यसमा सवार व्यक्तिहरूको खोजी कार्य सुरु गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।





















