सिन्धुली । प्रहरीले गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । दुई किलो २७२ ग्राम गाँजा सहित बुधबार राती दुधौलीबाट प्रहरीले दुधौली नगरपालिका वडा नं. ४ का २५ वर्षिय राजु धामी दनुवारलाई पक्राउ गरेको हो ।
राती ११ बजे गस्तीमा गएको इन्स्पेक्टर सपना खड्काको नेतृत्वको टोलीले डकाहा बजारबाट भागेर घरतर्फ गएका दनुवारलाई घरबाटै पक्राउ गरेको हो ।
शंकास्पद व्यवहार देखाई भागेपछि प्र्रहरी दनुवारको पिछा गर्दै घरसम्म पुगेको जनाएको छ । दनुवारको घर खानतलासी गर्दा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले बताएका छन् ।
दनुवार सुत्ने गरेको कोठा भित्र भुईमा कालो प्लाष्टिकको झोलाहरुमा पोका पोका पारी राखेको अवस्थामा गाँजा बरामद गरिएको उनले बताए । उनका अनुसार पक्राउ परेका धामीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ ।





















