सिन्धुली । इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीको हिरासतमा शंकास्पद रुपमा मृत फेला परेका श्रीकृष्ण वि.क.को घटनाको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा बुझाइएको छ । सुनकोशी गाउँपालिका वडा नं. ३ का श्री कृष्ण वि.कको शंकास्पद मृत्यु प्रकरण छानविनका लागि बनेको समितिले प्रतिवेदनमा इन्स्पेक्टर बसन्त भुजेल र प्रहरी जवान अर्जुन सिंहलाई विभागीय कारबाही सिफारिस गर्दै प्रतिवेदन बुझाएको हो ।
उक्त घटनाबारे छानबिन गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा कार्यरत डीआईजी दिनेशकुमार आचार्यको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको थियो । समितिले प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा बुझाईएको छ । प्रतिवेदन गृह मन्त्रालयमा पनि पठाइ सकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिए ।
प्रतिवेदनमा इलाका प्रहरी कार्यालय खुर्कोटका इन्स्पेक्टर बसन्त भुजेल र तत्कालीन बेलामा हिरासतको ड्यूटीमा खटिएका प्रहरी जवान अर्जुन सिंहलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ । सिफारिस अनुसार इन्सपेक्टर भुजेललाई खुर्कोटबाट सरुवा गरेर बागमती प्रदेश कार्यालय पठाइएको छ । खुर्कोटमा भने जिल्ला प्रहरी कार्यालयबाट अर्का एक जना इन्सपेक्टरलाई ड्यूटीमा खटाइएको छ ।
त्यस्तै, खुर्कोटमा कार्यरत अन्य १० जना प्रहरीलाई भने ध्यानाकर्षण र सचेत गर्न प्रतिवेदनमा सिफारिस गरिएको छ । हिरासतमै रहेको अवस्थामा मृत भेटिएका वि.क.को घटना शंकास्पद देखिएपछि प्रहरीले समिति बनाएर थप अनुसन्धान अघि बढाएको थियो । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ११ वैशाखमा छानबिन समिति गठन गरेका थिए ।
आचार्यको संयोजकत्वमा यूएन शाखाका एसपी रवीन्द्रनाथ पौडेल, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का इन्स्पेक्टर इन्द्रजित सुनार, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर प्रेम रेग्मी र सोही कार्यालयका सई राजेश्वर देवकोटा सदस्य राखिएको थियो । ७ वैशाखको साँझ हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका वि.कलाई उद्धार गरेर सिन्धली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ । विकको भिसेरा परीक्षणदेखि ‘होल बडी’को पोस्टमार्टम गर्ने काम समेत सकाएर समितिले प्रतिवेदन तयार पारेको समितिले जनाएको छ । पीडित परिवार माईतीघर काठमान्डौमा न्यायको माग गर्दै धर्ना बसिरहेको छ ।






















