सिन्धुली । गोलञ्जोर गाउँपालिका – ७ खुर्कोटबाट ५७ हजार अमेरिकी डलर सहित एक जनालाई प्रहरीले मंगलबार राती ११ बजे पक्राउ गरेको छ । घ्याङ्लेख गाउँपालिकाको हायुटारमा रहेको नेपाल एसबीआई बैंकमा मंगलबार राती लुटपाट भएपछि प्रहरीले राजमार्गमा कडाइका साथ चेकजाँच गर्ने क्रममा गोलञ्जोर गाउँपालिका ७ माथिल्लो बजारबाट एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
पक्राउ पर्नेमा काठमान्डौबाट इलामतर्फ जाँदै गरेको बा१६च८०४८ नम्बरको टाटासुमोमा सवाल झापाको मेचि नगरपालिका वडा नं. ३ का ३४ वर्षिय युवराज नेवार रहेका छन् । प्रहरीले उनको साथबाट अमेरिकी डलर १०० को नोट ५७० वटा, १२ हजार नेपाली रुपैंया फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुवेदीले बताएका छन् ।
रकमको श्रोत खुलाउन नसकेपछि पक्राउ परेका नेवारलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खुर्कोटमा राखिएको सुवेदीले जानकारी दिए । गाडीका चालक विक्रम लिम्बु पनि प्रहरीको नियन्त्रणमा रहेका छन् ।
करीब छ, सात जनाको समूहले नेपाल एसविआई बैंक घ्याङलेखबाट तीन करोड १० लाख ९५ हजार २ सय ८३ रुपियाँ लुटिएपछि प्रहरीले कडाईका साथ चेकजाँच गर्ने क्रममा नेवारलाई पक्राउ गरेको थियो ।
बैंक लुटपाट भएपछि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जिल्लाका सम्भावित सडक खण्ड र मुख्य राजमार्गमा मंगलबार रातीदेखि नै चेकजाँचमा कडाई गरेको थियो ।




















