सिन्धुली । भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा आगजनी तथा तोडफोड भई सबै सामान नष्ट भएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पुरानै लयमा सेवा सञ्चालन गर्न समस्या भएको छ । आइतबारदेखि नै सेवा सञ्चालन गर्ने भनिए पनि प्रशासनले आपतकालिन सेवा बाहेक अन्य सेवालाई पूर्ण रुपमा सञ्चालन गर्न समस्या भएको जनाएको छ ।
कार्यालयमा भएका फाईलनहरु जल्नु, फर्निचरको समस्या, विद्युतिय सामग्रीहरुको समस्या, भवनमा भएको क्षति, जनशक्तिको कमी लगाएतका समस्याका कारण सेवा सञ्चालनमा सकस भएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताएका छन ।
नागरिकताको काम सुरु गरिएको भए पनि त्यसलाई द्रुत रुपमा सञ्चालन गर्न सकिएको छैन । राहदानीको सिस्टम नै रिकभर भएको छैन । राहदानीका लागि कम्प्युटर लगाएतका सामग्रीहरु राहदानी विभागले पठाई सकेको छैन । जसका कारण समस्या सृजना भएको छ ।
केहि थान कम्प्युटर र प्रिन्टर सहयोग मागेर ल्याएर कार्यालयका सामान्य प्रशासनिक काम सुरु गरिएको छ तर राष्ट्रिय परिचयपत्रको काम गर्न सकिने अवस्था छैन ।
आईतबारदेखि छापिएर आएका र आन्दोलनका क्रममा आगजनीबाट बचेका राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु गरिने भुसालले बताएका छन । जेनजी आन्दोलनका क्रममा छापिएर आएका करीब १६ हजार राष्ट्रिय परिचयपत्र प्रशासनमा आएका थिए । ती परिचयपत्रहरु पालिकामा बाँड्न नपठाउँदै कार्यालय तोडफोड र आगजनी भएको थियो । प्रशासन तोडफोड र क्षतिमा कोहि परिचयपत्र हराएका, जलेका छन । प्रमुख जिल्ला अधिकारी भुसाल भन्छन, ‘भेटिएका परिचयपत्र बाँड्छौं, नष्ट भएका परिचयपत्र फेरी छाप्नका लागि अनुरोध गरि पठाउँछौं ।’
कमलामाई नगरपालिका, सुनकोशी गाउँपालिका, घ्याङलेख, तिनपाटन, गोलञ्जोर, फिक्कल लगाएतका पालिकाका नागरिकका परिचय पत्र आएको उनले बताए ।
मुद्दा शाखाका सबै कागजात नष्ट छन । प्रशासन शाखाका सबै सामग्रीहरुमा क्षति पुगेको छ । जसका कारण जलेको भवनमा नयाँ शिराबाट काम गर्नुपर्ने बाध्यता छ । प्रशासनले नजलेका फाईलहरु खोजी गरि मिलाउने क्रममा छ । कमलामाई नगरपालिका र तीनपाटन गाउँपालिकाका पुरानो नागरिकताको ढड्डा भेटिएको छैन । कमलामाई नगरपालिकाको १५ वटा र तिनपाटन गाउँपालिकाको २, ३ वटा नागरिकताको ढड्डा रेकर्ड फेला परेको छैन । २०७५ सालको नागरिकताका ढड्डा नभेटिएको प्रशासनले जनाएको छ ।
करीब २५ सय नागरिकको रेकर्ड हराएको हुनसक्ने प्रशासनको आँकलन छ । अरु दस्तावेज पनि धेरै भेटिएका छैनन । जलेका छन । अत्यावश्यक कागजात रिकभर गर्नै समय लाग्ने उनले बताए ।
कार्यालयमा सेवाग्राही आउन सुरु गरिसकेका छन तर कर्मचारीमा काम कहाँबाट सुरु गर्ने ? कसरी गर्ने ? अन्यौलता र निराशा मात्र रहेको छ । भुसाल भन्छन, ‘कसैको अनुहारमा खुशी नै छैन, कसरी काम गर्नु ?’ प्रशासनमा काम गर्ने कर्मचारी नहुँदा पनि समस्या छ । प्रशासन हेर्ने ४ वटा सुब्बाको दरबन्दी खाली छ । कम्प्युटर अपरेटर छैन, भएका कर्मचारी पनि सरुवा गरिदिएपछि झनै समस्या छ ।
दक्ष कर्मचारी नभएपछि कामलाई व्यवस्थित गर्न र सिस्टम मिलाउन सरुवा भएका कर्मचारीलाई अनुरोध गरेर केहि दिनका लागि बोलाएका छौं । आईतबारदेखि सिस्टम मिलाउने काम सुरु हुने भुसालले बताएका छन । पहिलेकै रफ्तारमा काम गर्न समय लाग्ने उनले बताए ।





















