सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीले विहिबार सिन्धुलीमाढीमा शहीद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवस २०८२ मनाएको छ । संगठनले सडक दुर्घटनामा परि घाईते भई सिन्धुली अस्पतालमा उपचाररत विरामी तेज बहादुर सिंजाली मगर र क्यान्सर तथा नशा रोगसँग लडिरहेका मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत कम्प्युटर अपरेटर उद्धव ढुंगेललाई उपचारका लागि आर्थिक सहयोग गरेर स्मृति दिवस मनाएको हो ।
संगठनका जिल्ला अध्यक्ष डिल्ली सौगात घिमिरेको अध्यक्षता एवम् संगठनका केन्द्रीय सदस्य एवम् सिन्धुली इन्चार्ज पदम मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विरामीका आफन्तलाई जनही २५ हजार पाँचसय रुपैंया बराबरको चेक हस्तान्तरण गरिएको हो ।उनीहरु दुवैजनाको आफन्तलाई संगठनका सिन्धुली इन्चार्ज पदम मगर र जिल्ला अध्यक्ष डिल्लीसौगात घिमिरेले चेक हस्तान्तरण गरे ।
२७ महिना अघि सिन्धुली चकमके सडकखण्डमा दुर्घटनामा परि सिन्धुली अस्पतालमा करीब १५ महिनादेखि कोमामा रहेर उपचार भईरहेका विरामी तेज बहादुरकी श्रीमति बिमला रमौलीले आर्थिक अभावमा विरामीको उपचारमा समस्या भोग्दै आएकी थिईन ।
यस्तै ढुंगेलको पनि आर्थिक अभावमा उपचारमा समस्या हुँदै आएको छ । यो बाहेक पनि रकम संकलन भईरहेकाले जम्मा भएको रकम समेत दुवै जना विरामीलाई सहयोग गरिने घिमिरेले बताएका छन ।
स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा कर्मचारी आन्दोलनमा शहीदहरुले दिएको योगदानको समेत चर्चा गरिएको छ । यस्तै संगठनले स्मृति दिवसका अवसरमा विरामीलाई सहयोग गरि मानवीय सहयोगको महत्वपूर्ण काम गरेको भन्दै सबैको प्रेरणा बनेको वक्ताहरुले बताएका छन ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका इन्चार्ज पदम मगर, नेकपा एमाले बागमती प्रदेश सदस्य प्रदीप कटुवाल, नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डे, कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीका प्रमुख हरिहर शर्मा, कार्यालय प्रमुखहरुको तर्फबाट जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय सिन्धुलीका प्रमुख कृष्ण बहादुर पाण्डे, पेशागत महासंघ सिन्धुलीका सचिव गुणविक्रम कुवँर, स्थानीय तह कर्मचारी संगठनका अध्यक्ष मुकेश तामाङ, नेपाल कर्मचारी युनियन सिन्धुलीका अध्यक्ष दिनेश पोखरेल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।






















