सिन्धुली । लागु औषध खैरो हिरोईन सहित मंगलबार सिन्धुलीको भिमानबाट चारजना पक्राउ परेका छन । कमलामाई नगरपालिका वडा नं. ९ भिमानमा खटिएको इलाका प्रहरी कार्यालय भिमानको प्रहरी टोलीले चेकपोष्टमा सवारी चेकजाँच गर्ने क्रममा खैरो हिरोईन सहित चार जनालाई पक्राउ गरेको हो ।
प्रहरीले चारजनाको साथबाट २७ दशमलब ९ सय ग्राम खैरो हिरोईन बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन ।
खैरो हिरोईन सहित पक्राउ पर्नेमा २ जना भारतीय नागरिक र २ जना नेपाली नागरिक रहेका छन । भारतीय नागरिक र नेपाली नागरिकलाई दुई छुट्टाछुट्टै सवारी साधन चेकजाँचका क्रममा पक्राउ गरिएको हो ।
प्रहरीले चेकजाँचका क्रममा विराटनगरबाट काठमान्डौतर्फ जाँदै गरेको बा४ख६०४२ नम्बरको हायस चेकजाँच गर्दा हायसमा यात्रा गर्ने दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनीहरु विहार राज्यको खजुरवाड जोगवनी वडा नं. ५ बस्ने ३० वर्षिय मोहम्मद रिजवान र ३५ वर्षिय मोहम्मद इकरार रहेका छन । उनीहरुसँग ११ दशमलब ५०० ग्राम खैरो हिरोईन बरामद गरेको सुवेदीले जानकारी दिए ।
यस्तै प्रहरीले झापाबाट काठमान्डौतर्फ जाँदै गरेको प्र.१–०१–००१ख४५३६ नम्बरको हायसबाट दुई जना नेपाली मूलका नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका वडा नं. १ बस्ने ३५ वर्षिय सरोज बास्तोला र सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १४ का अशोक हिङ्ममाङ रहेका छन । उनीहरुसँग प्रहरीले १६ दशमलब ४०० ग्राम खैरो हिरोईन बरामद गरेको सुवेदीले जानकारी दिएका छन । पक्राउ परेकाहरुलाई बुधबार इलाका प्रहरी कार्यालय भिमानले सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरेको छ ।




















