सिन्धुली । सिन्धुलीगढीका संरचना बुझाउने र ऐतिहासिक महत्व झल्काउने गरि विपी राजमार्गको सेल्फीडाँडामा राहत चित्र (रिलिफ आर्ट) र स्ट्याचु (मूर्ति) निर्माण गरिएसँगै ठाउँको नाम समेत परिवर्तन गरिएको छ । उक्त ठाउँ अब गढीडाँडाको नामले चिनिने छ ।
सिन्धुलीगढी पुग्न नसक्ने र सिन्धुलीगढीको बारेमा थाहा पाउन चाहनेका लागि विपी राजमार्गको सेल्फीडाँडामा राहत चित्र, भित्तेचित्र र मूर्तिहरु निर्माण गरिएसँगै नाम समेत परिवर्तन गरिएको हो । चित्र तथा मूर्तिको शनिबार एक कार्यक्रमको आयोजना गरि कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल र श्री ९ नं. बाहिनी अड्डा सिन्धुलीका बाहिनीपति युवराज कार्कीले संयुक्त रुपमा अनावरण गरेका छन ।
कमलामाई नगरपालिका र नेपाली सेनाको भवानी वक्स गणको सहकार्यमा रिलिफ आर्ट, भित्तेचित्र र मूर्ति निर्माण गरिएको हो । आर्टमा पौवागढी, ठूलो गढी, रानी दरबार, सिद्धगढी मन्दिर, भद्रकाली मन्दिर लगाएतका संरचनाहरु झल्कने चित्रहरु बनाईएको छ ।
भित्तामा खोपेर उठाएर बनाइएका चित्रहरुसँगै गोरखाली सेना र अंग्रेज युद्ध झल्कने चित्र, युद्धको झल्को दिने मूर्ति लगाएतका संरचनाहरु समेत निर्माण गरिएको छ ।
उक्त कार्यका लागि कमलामाई नगरपालिकाको पाँच लाख सहयोग रहेको छ भने प्राविधिक तथा भौतिक व्यवस्थापन तथा जनशक्ति व्यवस्थापन भवानी बक्स गण सिन्धुलीको रहेको छ । सिन्धुलीगढीमा जो पुग्दैन त्यहाँ भएका ऐतिहासिक महत्वका संरचना, कुराहरु हेर्न सेल्फीडाँडामा सकिने गरि चित्र तथा मूर्ति निर्माण गरिएको नेपाली सेनाले जनाएको छ ।
सेल्फीडाँडा सौन्दर्यकरण गर्ने क्रममा सिन्धुलीगढीको चित्र निर्माण गरिएको कमलामाई नगरपालिकाका सूचना अधिकारी सागर कुमार ढकालले बताए ।
विपी राजमार्गको चर्चित फोटो सेसन गर्ने स्थानका रुपमा यो स्थान सेल्फीडाँडाको नामले परिचित थियो । सिन्धुलीमाढीदेखि सिन्धुलीगढीसम्मको नागवेली बाटोको बीचमा रहेको उक्त डाँडाको नाम अब गढीडाँडाले चिनिने छ ।





















