सिन्धुली । नेकपा एमाले सिन्धुलीले तीन दिने प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेको छ । नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षता एवम नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यतामा मंगलबार सिन्धुलीमाढीमा प्रशिक्षण सम्पन्न भएको हो ।
प्रशिक्षण दिँदै उपाध्यक्ष ज्ञवालीले विश्व कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनको बारेमा व्याख्या गरेका थिए । उनले नेकपा एमाले नै सर्वश्रेष्ठ कम्युनिष्ट पार्टी रहेको बताउँदै सबै नेता कार्यकर्ताले कुशलतापूर्व काम गरी सर्वश्रेष्ठता हासिल गर्नुपर्ने बताए । उनले कम्युनिष्ट नेताको प्रमुख शक्ति नीति, विचार र व्यवहार रहेको बताए ।
कार्यक्रममा प्रशिक्षण दिंदै नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले नेपालका राजनीतिक दलका शक्ति सन्तुलनबारेमा चर्चा गर्दै असल काम गरी असल कार्यकर्ता बन्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।
यस्तै एमाले केन्द्रीय प्रशिक्षण विभागका सचिव घनश्याम कोइरालाले विचार विनाको व्यवहार, त्याग र तर्क विनाको कार्यकर्ताले काम गर्न नसकिने बताउँदै ज्ञान, सिप, क्षमतामा सर्वोत्कृष्ट हुनु नै एमालेका कार्यकर्ताको अभिभारा रहेको बताए ।
बागमती प्रदेश प्रशिक्षण विभाग प्रमुख शान्ति पौडेलले देखिएका कमी कमजोरी हटाउँदै योजनाबद्ध ढंगले सांगठनिक काममा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।
तीनदिनसम्म चलेको प्रशिक्षणमा नेकपा एमाले केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली, पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराई, बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, नेकपा एमाले केन्द्रीय सदस्य एवं सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापा, पार्टीका केन्द्रीय सदस्यहरू गणेश पहाडी, सुवास देवकोटा, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कडेल, नेकपा एमाले केन्द्रीय स्कुल विभाग सचिव घनश्याम कोइराला एवं प्रदेश स्कुल विभागका सचिव शान्ति पौडेल, बागमती प्रदेश कमिटी सदस्य डम्बर कार्की, प्रदेश कमिटी सदस्य प्रदिप कटुवाल, जिल्ला कमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठ लगायतले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा केन्द्रीय सदस्यहरु, बागमती प्रदेश सदस्यहरु, जिल्लाका पदाधिकारी तथा सदस्यहरु, पालिका कमिटीका पदाधिकारीहरु तथा जनसंगठनका जिल्लास्तरका नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम सञ्चालन प्रशिक्षण विभाग सिन्धुलीका प्रमुख पार्वती भट्टराईले गरेकी थिईन । कार्यक्रमको समापनमा प्रशिक्षणमा सहभागिहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।






















