सिन्धुली । जिल्लामा प्रहरीले विहिबार ठूलो परिणाममा लागु औषध ट्यावलेट बरामद गरेको छ । विहिबार दिउँसो कमलामाई नगरपालिका वडा नं. ९ भिमान चेकपोष्टमा वर्दिबासबाट काठमान्डौ जाँदै गरेको विद्युतिय गाडी चेकजाँच गर्ने क्रममा प्रहरीले दुई लाख ६० हजार ४ सय ४३ रुपैंया बराबरको ट्यावलेट बरामद ग¥यो । ट्यावलेटसँगै एक जना र काठमान्डौबाट २ जना गरि तीन जनालाई पक्राउ गरेको छ ।
सर्लाहिको बरहथवा नगरपालिका वडा नं. ७ का ३० वर्षिय विक्रम चौधरी लागु औषध सहित पक्राउ परेका छन । उनले रातो झोलामा ल्याएको नाईट्राभेट–१० ९६ पत्ता अर्थात २ हजार ८ सय ८० ट्यावलेट र ट्रामाडोल १ हजार ४ सय ५० पत्ता अर्थात २ हजार ९ सय क्याप्सुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताएका छन ।
चौधरीलाई सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको एसपी सुवेदीले शुक्रबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पत्रकार सम्मेलन गरि जानकारी दिएका छन ।
सुवेदीका अनुसार चौधरीको बयानका आधारमा काठमान्डौबाट थप दुई जनालाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको ठूलोपाखर गाउँपालिका वडा नं. ६ का ३० वर्षिय सफल श्रेष्ठ र सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं. ६ का राहुल तामाङ रहेका छन ।
पक्राउ गरेका व्यक्तिहरुसँग अनुसन्धान गरि लागु औषधको मुख्य कारोवारीसम्म पुग्ने गरि अनुसन्धान थालिएको सुवेदीले बताए । काठमान्डौबाट पक्राउ परेका दुई जनालाई आजै सिन्धुली ल्याईदै गरेको एसपी सुवेदीले बताए ।






















