सिन्धुली । आर्थिक मन्दीको प्रभाव जिल्लाका साना उद्योग तथा व्यवसायमा प्रत्यक्ष रुपमा पर्न थालेको छ । जिल्लामा पछिल्ला ४ बर्ष यता उद्योग तथा व्यवसायहरु धमाधम बन्द हुन थालेको उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले जनाएको छ ।
कोरोनापछिका वर्षहरुमा हरेक वर्ष उद्योग बन्द हुने क्रम बढ्दो देखिएको छ । जिल्लामा चालु आर्थिक वर्षमा मात्र उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीमा दर्ता भएका ६७ वटा उद्योग र ५९ वटा व्यवसाय गरि १२६ वटा व्यवसायीक फर्म बन्द भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि हालसम्म २ सय ९६ उद्योग खारेज भएका छन । ती उद्योगहरु आर्थिक अभाव र व्यवसायमा आएको गिरावटका कारण खारेज भएको कार्यालय प्रमुख ध्रुवराज ढकालले बताए ।
आर्थिक वर्ष २०७८/०७९ मा २४ उद्योग खारेज भए भने २०७९/०८० मा ५० उद्योग खारेजीमा परे । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ९६ उद्योग खारेजीमा परे । यसले हरेक वर्ष उद्योग व्यवसाय बन्द हुँदै गएको देखाएको छ ।
उद्योग व्यवसाय बन्द हुने मात्र हैन खुल्ने क्रम पनि क्रमशः घट्दै गएको ढकालले जानकारी दिए । उद्योगहरु दर्ता हुने क्रम पनि क्रमशः घट्दै गएको छ । आर्थिक वर्ष २०७८/०७९ मा ५४७ उद्योग दर्ता भए । यस्तै आर्थिक वर्ष २०७९/०८० मा ३२४ वटा उद्योग दर्ता हुन आएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा १५५ उद्योग तथा व्यवसायीक फर्म दर्ता भए । चालु आर्थिक वर्षमा सूचिकरणका कारण उद्योग दर्ताको संख्या केहि उच्च देखिए पनि आर्थिक मन्दीको प्रभाव परेको छ ।
जिल्लामा २४८ व्यवसायीक फर्म दर्ता भएका छन । व्यवसायीहरुले घरभाडा तिर्न समेत नसकेको भन्दै धमाधम व्यवसाय खारेज गर्न आएको कार्यालय प्रमुख ढकालले बताए । प्रायः व्यक्तिहरु पसल बन्द गर्ने र विदेश जाने तयारीमा आउने गरेको पाईएको उनले जानकारी दिए । जिल्लामा हालसम्म ५ हजार ६०१ वटा उद्योग र बाणिज्य तर्फ ४ हजार २ सय ६५ फर्म दर्तामा रहेको उनले जानकारी दिए ।
जिल्लाका विभिन्न बजार क्षेत्र अनुगमन गर्दा कतिपय उद्योग व्यवसाय दर्ता, नविकरण र सूचिकरण नआउने गरेको पाईएको र सचेत गराउँदै आएको उनले बताए ।




















