सिन्धुली । पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपिभि) मंगलबारदेखि देशभर एकै साथ लगाउन सुरु गरिएको छ । सिन्धुली जिल्लामा पनि यो खोप लगाउन मंगलबारदेखि नै सुरु भएको छ । जिल्ला स्तरको खोप अभियानको उद्घाटन जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले गरेका छन ।
जिल्लास्तरको अभियानको सुरुवात सिद्धस्थली मावि माढीबजारबाट गरिएको छ । खोप अभियान जिल्लाका नौ वटै स्थानीय तहमा एकै साथ सुरु गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । पहिलो दिन जिल्लाका नौ वटै स्थानीय तहबाट दुई हजार एक सय ४१ जना किशोरीलाई खोप लगाईएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप अभियानका प्रवक्ता पुष्पराज पन्तका अनुसार पहिलो दिन कमलामाई नगरपालिकामा २ सय ४२ जना, दुधौली नगरपालिकामा ६ सय ९४ जना, तिनपाटन गाउँपालकामा ४ सय २६ जना, फिक्कल गाउँपालिकामा ७१ जना, गोलञ्जोर गाउँपालिकामा १ सय १८ जना, सुनकोशीमा २ सय ९७, घ्याङलेख गाउँपालिकामा १ सय ७१ जना, मरिण गाउँपालिकामा ४२ जना, हरिहरपुरगढी गाउँपालिकामा ८० जनालाई खोप लगाईएको छ ।
पहिलो दिन जिल्लाका ४९ वटा खोप केन्द्रमा खोप लगाईएको थियो । पहिलो दिन २ हजार ८ सय ५७ जनालाई खोप लगाउने लक्ष रहेको थियो ।
जिल्लामा नौ वटा स्थानीय तहमा १४ हजार ६ सय २२ जना किशोरीहरुलाई यो खोप लगाईने छ । जिल्लाभरका लागि ३ सय ३ खोप केन्द्रबाट खोप अभियान चल्ने छ । खोप अभियान सञ्चालन गर्नका लागि जिल्लाभर २ सय २३ जना स्वास्थ्यकर्मी र ४ सय ६२ जना स्वयम सेवक परिचालन गरिएको छ ।
यो अभियानमा सबैभन्दा बढी कमलामाई नगरपालिकाका किशोरीले खोप लिनेछन । जहाँ ६५ वटा खोप केन्द्रबाट ३ हजार ६ सय २१ किशोरीले खोप लगाउने छन । दुधौली नगरपालिकामा ५७ खोप केन्द्रबाट २ हजार ९ सय ९१ जना, तिनपाटन गाउँपालिकामा ३७ वटा खोप केन्द्रबाट १ हजार ५ सय ५५ जनाले खोप लगाउने छन ।
त्यस्तै फिक्कल गाउँपालिकामा २५ खोप केन्द्रबाट १ हजार १ सय ११ जना, गोलञ्जोर गाउँपालिकामा २४ खोप केन्द्रबाट १ हजार ८५ जना, सुनकोशी गाउँपालिकामा २९ खोप केन्द्रबाछ १ हजार ४५ जनाले खोप लिने छन ।
यस्तै घ्याङलेख गाउँपालिकामा १६ वटा खोप केन्द्रबाट ७ सय २९ जना, मरिण गाउँपालिकामा २९ खोप केन्द्रबाट १ हजार ४ सय ७९ जना र हरिहरपुरगढी गाउँपालिकामा २१ खोप केन्द्रबाट एक हजार ६ जनाले खोप लगाउने छन ।





















