सिन्धुली । नेकपा एमालेको तीन महिले वडा केन्द्रीत (जरा) अभियान सुरु भएको छ । जिल्लामा यो अभियानको औपचारिक रुपमा मंगलबारबाट सुरुवात गरिएको छ । अभियानको सुरुवातमा नेकपा एमाले सिन्धुलीले जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम मंगलबार सिन्धुलीमाढीमा सम्पन्न गरेको छ ।
पार्टीका जिल्ला कमिटीका पदाधिकारी, सदस्यहरु, नौ वटा पालिका कमिटीका पदाधिकारीहरु, १८ वटा जनसंगठनका प्रमुखहरुलाई अभिमुखीकरण गरिएको नेकपा एमाले सिन्धुलीले जनाएको छ ।
नेकपा एमाले सिन्धुलीले पालिका स्तरमा अभिमुखीकरण गर्दै जिल्ला भरका ७९ वडा र टोलस्तरसम्म जरा अभियान सञ्चालन गर्ने छ । जसका लागि ३ हजार ५ सय कार्यकर्ता अभियानमा परिचालन गर्ने तयारी भएको नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बताए । आगामी बैशाख १० गतेसम्म चल्ने यो अभियानमा टोल कमिटीहरु व्यवस्थित गर्ने, वडा स्तरमा जनसंगठनको कामलाई व्यवस्थित बनाउने, मतदाताको संख्या बढाउने, पार्टी सदस्य संख्या बढाउने, वडामा आन्तरिक सौहार्दता र एकता कायम गर्ने, रचनात्मक र अतिरिक्त क्रियाकलापमा कार्यकर्तालाई जोड्ने, श्रमदानमा जोडिने लगाएतका काम गरिने छ ।
यस्तै वडा स्तरमा कुल मतदाताको ३ प्रतिशत पार्टी सदस्य बनाउने, पालिका स्तरमा ६ प्रतिशत पार्टी सदस्य बनाउने एमालेको तयारी रहेको छ । अभियानमा तीन पटक कम्तिमा वडाको बैठक बस्नुपर्नेछ भने वार्षिक कार्य योजना निर्माण (क्यालेन्डर निर्माण) सहित काम गर्ने, प्रत्येक वडाको अभियान प्रोफाईल बनाउने काम समेत गरिने छ । अभियानको समयमा वडा तथा टोल स्तरमा हुने विकासका कामलाई जनतासँग जोडेर व्यवस्थित बनाउन एमाले कार्यकर्तालाई खटाईने छ ।
यस्तै अभियानलाई जोडेर टोल स्तरसम्म पार्टी प्रवेशलाई प्राथमिकतामा राख्ने एमालेको तयारी छ । श्रेष्ठका अनुसार पालिकाले कामको आधारमा उत्कृष्ट वडा घोषणा गर्ने, जिल्लाले उत्कृष्ट पालिका घोषणा गर्ने कार्यक्रम समेत रहेको छ । सिन्धुलीमा एमालेले १५ हजार पार्टी सदस्य पु¥याउने लक्ष्य राखेको छ । हाल ५ हजार ३ सय १८ जना पार्टी सदस्य रहेका छन ।





















